सबैभन्दा धेरै खानेलाई पुरस्कार

  • ख-
  • ख+

लक डाउनमा खानाका पारखीलाई काइदा
भदौ १६, दमौली
लक डाउनले घरको खाना खाजा खाँदा वाक्क हुनुभएको छ ? केही मीठो खान खोज्दै हुनुहुन्छ ? उसो भए अब तपाइंको चाहना पुरा हुने भएको छ । अलि अलि होइन तपाइंले सक्दो खान पाउनुहुन्छ । त्यो पनि थरि थरिका परिकार ।


हो । दमौलीका मःमः पारखीहरुको गन्तव्य पिएसएन फुड जोनले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा खाने प्रतियोगिता आयोजना गरेको छ । शुक्रबार र शनिबार व्यास २ पदमचोकमा हुने प्रतियोगितामा सहभागीलाई मःमः, बर्गर र हट डग खुवाइनेछ, त्यो पनि पेटभरि ।


सञ्चालक सुनिल बुढाथोकी भन्छन्,‘लक डाउनमा वाक्क भएका ग्राहकलाई खाना र मनोरञ्जन दुवै दिने हिसाबले प्रतियोगिता गर्ने सोचेका हौ ।’ उनका अनुसार प्रतियोगिता गर्दा सामाजिक दुरीमा भने ध्यान दिइनेछ । ‘महिला र पुरुष गरी दुई समूहमा सामाजिक दुरी कायम गरेरै प्रतियोगिता गर्नेछौं,’ उनले भने ।


निर्धारित १० मिनेटको समयमा दिइएका सबै खानेकुरा खाइसक्नेका लागि आकर्षक पुरस्कार दिने योजना पिएसएनको छ ।


डेढ दशक कतारमा फुड एण्ड वेभरेजको क्षेत्रमा काम गरेर घर फिरेका बुढाथोकीले सञ्चालनमा ल्याएको रेष्टुरेन्टले मःमःका धेरै थरि स्वाद पस्केको छ । ‘हामीकहाँ झण्डै दर्जन विभिन्न प्रकारका मःमः पाइन्छ,’ उनी भन्छन्,‘राम्रो रेस्पोन्स आएको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी