काठमाडौं — समान रुपमा वचत फिर्ता गर्न माग गर्दै सोमबार सहकारी पीडितहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।सहकारी पीडित वचतकर्ता महासंघको नेतृत्वमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
सहकारी पीडितहरूले सरकारले साना र ठूला वचतकर्ता भनेर विभाजन गरेर पीडितहरूको आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन् । सहकारी पीडित वचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनकारी सहकारी पीडितहरूको वचत पहिला फिर्ता गर्न सरकारसँग माग गरे । माग सम्बोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको उल्लेख गर्दै अब सहकारी पीडितहरूको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
सहकारी पीडितसँग विगतमा गरेका सम्झौताहरू कार्यान्वयन गराउन आफूहरूले प्रदर्शनमा उत्रिएको उनको भनाइ छ । उनले सरकारले साना र ठूला वचतकर्ता भनेर सहकारी पीडितलाई नै विभाजन ल्याउन खोजेको पनि आरोप लगाए । सबै पीडित समान रहेकोले सबैलाई समान व्यवहार गरेर वचत फिर्ता गर्न उनले सरकारसँग आग्रह गरे । सरकारले हाल ठूला ऋणीसंँग कर्जा असुली गरेर साना वचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ । न्युज एजेन्सी नेपल





