जन्मदिनमा दीपाश्रीले पुन: मागिन् माफी

  • ख-
  • ख+

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले आज आफ्नो जन्मदिन मनाउँदै छन् । जन्मदिनमा दीपाश्रीले एक भिडियो शेयर गर्दै दर्शकसँग माफी मागेकी छन् ।

अभिनेता राजेश हमालको ‘महानायक’ उपाधिमा दीपाश्री निरौलाले प्रश्न खडा गरिदिएकी थिइन् । एउटा टीभी अन्तर्वार्तामा उनले महानायक भनिएका राजेश हमालले सङ्कटको समयमा पनि उपस्थिति नदेखाएको भनेकी थिइन् । उक्त अभिव्यक्तिपछि दीपाश्री विवादमा मुछिएकी थिइन् । धेरैले दीपालाई गाली-गलौज गरेका थिए ।

दीपाले त्यही समय माफी मागिसकेकी थिइन् । आफूले राजेशलाई महानायक होइन नभनेको र बोल्ने शैली गलत भएको भन्दै दीपाले फेसबुक स्टाटस लेखेर माफी मागेकी थिइन् । राजेशले पनि फेसबुकमा लाइभ आएर नै दीपालाई माफी दिन आग्रह गरेका थिए ।

उक्त विवाद केही साम्य भइसकेको थियो । यस्तैमा, दीपाले आफ्नो जन्मदिनमा पुन: माफ मागेकी छन् । दीपाले भनेकी छन्, ‘मलाई थाहा छ, मेरो अभिव्यक्तिले तपाईंहरू धेरैको मन दुखेको छ । मलाई आफ्नै दिदी-बहिनी सम्झिएर माफ गरिदिनुहोला ।’

दीपाले पोस्ट गरेको भिडियोमा आफूले ३ दशक लामो कलाकारिता यात्रामा धेरै पीडादायी दिनहरू पनि भोग्नुपरेको खुलासा गरेकी छन् । आफ्नो विगत सम्झिँदै उनले तीतो सत्य सुरु हुनुअगाडि निकै पीडा खेप्नुपरेको उल्लेख गरेकी छन् ।

दीपा भन्छिन्, ‘तीतो सत्यपछि मैले पछि फर्किनुपरेन । छक्कापञ्जा सिरिजले त झन् सफलताको शिखर पुर्‍याइदियो । तर, सफल भए पनि मेरो व्यक्तित्व विकासमा अझै कमजोरी रहेछ । त्यो मैले महसुस गरेँ ।’

यो विवादले आफूमा भएका कमजोरीहरू हटाइदिएको दीपाले बताएकी छन् । उनले भनेकी छिन्, ‘यो विवादले मलाई शिक्षा दिएको छ । ठूलो आँधीबेहरी आएर कुहिएका फलहरू झरेजस्तै मेरोमा भएका कमजोरीहरू पनि यो विवादका कारण उत्पन्न आँधीबेहरीले झारिदिएको छ ।’

आफूलाई आएका गाली-गलौज तथा तिरस्कारका शब्दहरू सम्झिँदै गर्दा दीपाश्री केही भावुक बनेकी छन् । उनले भनेकी छिन्, ‘मेरो कारण मेरै टिमलाई पनि गाह्रो भयो । मेरै कारण मेरो टिमका साथीहरूले गाली खानुभयो । त्यसमा मलाई आत्मग्लानि भयो ।’

दीपाले जन्मदिनमा प्रण गर्दै भनेकी छन्, ‘अबको दिनमा भने म आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिनेछु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी