दमौली : लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास नगरपालिका–६, शिशाघाट स्थित इलाका प्रहरी कार्यालयलाई दुई थान जीवन ज्याकेट हस्तान्तरण गरेको छ। ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ ‘हाम्रो समुदाय, हाम्रो जिम्मेवारी’ अभियानलाई आत्मसात् गर्दै क्लबले बुधबार २०८३ साल भदौ २४ गते जीवन ज्याकेट हस्तान्तरण गरेको हो।
नदी तथा जल क्षेत्रमा हुने सम्भावित दुर्घटनाका क्रममा सुरक्षामा सहयोग पुग्ने उद्देश्यले जीवन ज्याकेट हस्तान्तरण गरिएको क्लबले जनाएको छ। हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ तनहुँ दमौलीका सदस्यहरू लायन सुमन श्रेष्ठ, लायन गौरव खड्का, लायन सन्तोष जमरकट्टेल र लायन दीपक राज न्यौपानेको उपस्थिति थियो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय शिशाघाटका असई ईश्वर नेपालीसहित कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। क्लबले समुदायको आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।





