म अपराधी हुँ श्रीमान !

  • ख-
  • ख+

श्रीमान म सावित्री सुबेदी
दुनियाँले मलाई महिला अधिकारवादी भन्छन्
तर कठघराले मलाई अपराधी मान्छन् श्रीमान
प्रश्नको कठघरामा मलाई किन डाकियो ?
के थ्यो मेरो त्यस्तो अपराध ?
श्रीमान मलाई उत्तर दिनुहोस्
किनकि जनता जान्न चाहान्छ ।

बिरगंज निचुटामा सात वर्षीया म बच्चीलाई
सामूहिक बलात्कार गरियो श्रीमान
म पन्ध्र दिन पीडाको रगतको तालमा पौडी खेली रहेँ
मैले जीवनभर आमा बन्ने क्षमता गुमाएकी छु
श्रीमान म आमा बन्न चाहान्छु
मलाई मेरो पाठेघर फिर्ता गराईदेऊ श्रीमान
छ तपाईँसङ्ग यसको जबाफ श्रीमान ?

मलाई जबाफ चाहियो मेरो प्रश्नको श्रीमान
मेरो बाँच्ने अधिकार छ कि छैन मेरो आफ्नै देशमा ?
मलाई जबाफ दिनुहोस् श्रीमान
किनकि जनता जान्न चाहान्छ र सुन्न चाहान्छ
न्यायको घोषणा श्रीमानबाट
हो म यिनै टेकिएको आबाजको तोप हुँ म
हो म यिनै काटिएको जिब्रोको अग्रगामी हुँ म
हो म सावित्री सुवेदी हुँ श्रीमान
हो म अपराधी हुँ श्रीमान
मलाई फाँसी दिनुहोस् ।

जनता जान्न चाहान्छ अदालतको कठघरामा
किन डाकियो मलाई श्रीमान ?
कतै नबलपरासीको आठमहिने शिशुलाई
बलात्कार गर्ने बाउ मैं पो हो कि ?
हो म बलात्कारी हुँ श्रीमान
किनकि म बलात्कृत नरपिशाचु छातीमा
घुँडा टेकेर आम बलत्कृत चेलीबेटीको
दबेको आवाजको धारिलो तरबार बनेर
घाँटी रेटिरहेकी छु तिनीहरूको
हुँ म बलात्कारी श्रीमान
किनकि म बलात्कारीलाई आश्रय दिने
सरकारको विरुद्ध विरोधी घाँटीको पासो बनेर
लट्किरहेकी छु खुर्सानी र निबुँ लट्किए झैँ
सिङ्गोदरबारको मूख्यद्वारमा ।

श्रीमान हुँ म अपराधी
किनकि म यो देशको आम चेलिबेटीको
अगुवाईको डहर बनेर उक्लिरहेकी छु
चुनौतीको शैलको त्यो कठिन उकालो
जहाँ विरोधका धारिला काँचका टुक्रैटुक्राहरू छन्
अनि म त्यही टुक्रैटुक्राहरूमाथि
लाचारीका नाङ्गो पाउ रकताम्य पारी टेक्दै
हजारौँ निर्मला पन्त जस्ताका लागि
न्यायका भीख माग्दै माइतीघर मण्डलामा
पेटीकोट साङ्केतिक विरोध गरिरहेछु
त्यही नै मेरो ठूलो भुल भयो श्रीमान
मैले त नग्न बलात्कृत रक्ताम्य भएको
योनाङ्ग देखाई विरोध गर्नु पर्दथ्यो श्रीमान
त्यही नै मेरो ठूलो भुल भएछ
श्रीमान छु नै म अपराधी
मलाई फाँसी दिनुहोस् ।

तर मलाई फाँसी दिनु अघि श्रीमान
मेरो प्रश्नको जबाफ दिनुहुन विलम्ब नगर्नु होला
बलात्कृत भएकी हजारौँ निर्मला जस्ताको
आवाज भएर म एकै स्वरमा सोध्न चाहान्छु
म निर्मला पन्त के तपाईँकी छोरी भए ?
बलात्कारीलाई फाँसीको सजाय संविधानको
दफामा उल्लेखित हुनुपर्छ भनेर
माग गर्नुहुन्थो कि हुन्थेन श्रीमान ?
मलाई जबाफ चाहियो मेरो प्रश्नको श्रीमान ।

महिला खबरले तयार पारेको यो स्टोरी पूरा पढ्न तल बक्समा क्लिक गर्नुहोस्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी