शिव सदाशंकर
नेपाल समाज को विकासक्रम यहाँ आइपुग्न कैयौँ टकराव र खुड्किलाहरू पार गर्दै यहाँसम्म आएको कुरा हामीहरूमा प्रष्ट छ हुन त समाज आफैंमा मानिसहरूको बस्ती मात्र नभएर बर्गर सङ्घर्षहरूको किताब हाे। त्यसैले समाज विकासक्रमको लागि वर्गसंघर्ष अपरिहार्य हुन्छ तर आज नेपाली समाज एउटा यस्तो दाेषसाझमा उभिएको छ । नेपाली समाज वैचारिक सांगठानिक सांस्कृतिक आर्थिक हरेक पाटोबाट विगठनको दिशातिर छन्। यी पार्टीहरूमध्ये पनि सबैभन्दा बढी विगठनको दिशातिर कम्युनिस्ट पार्टीहरू छन्। यो विगठन के कारणले भयो भन्ने कुरा नियाल्दै जाने हो भने एउटा किताब बन्न सक्छ। यही विगठननहरु मध्ये हरेक समाजको मेरुदण्ड मानिने त्यहाँको संगठन पनि हो। हाम्रो समाजको संगठन भनेको नै यहाँको राजनीतिक पार्टीहरू हुन्। अझ भन्नुपर्दा जनजीविकाको पक्ष उठाउने भनेको नै कम्युनिष्ट पार्टीहरू हुन्। जसले समाजलाई रूपान्तरण गर्दै नयाँ ठाउँमा धकेल्ने प्रयत्न गर्दछ तर विवस भएर भन्नुपर्छ कि यहाँका पार्टीहरु संगठनिक, वैचारिक हरेक रुपले विघटनको दिशातिर छन्।
एकातिर पुरानो उत्पादन सम्बन्ध, वर्गीय शोषण र प्रतिक्रियावादी चिन्तनको जकडबन्दी छ भने अर्कोतिर नयाँ सामाजिक सम्बन्ध, वर्गीय मुक्ति र वैज्ञानिक समाजवाद हुँदै साम्यवाद सम्मको यात्रा छ। यो अन्तर्विरोधको वैज्ञानिक समाधान नै नेपाली समाज र यहाँका पार्टीहरूको ऐतिहासिक आवश्यकता हो।कम्युनिस्ट पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति होइन, वर्गसंघर्षको अग्रदस्ता हो। त्यसैले पार्टीभित्र उत्पन्न हुने वैचारिक, राजनीतिक र संगठनात्मक अन्तरविरोधलाई व्यक्तिको प्रतिष्ठा, पदको प्रतिस्पर्धा वा गुटगत स्वार्थको आँखाबाट हेर्नु स्वयं क्रान्तिकारी दृष्टिकोणको विचलन हो। द्वन्द्वात्मक भौतिकवादले भन्छ,विरोध नै विकासको स्रोत हो तर पनि विरोधको समाधान कसरी गरिन्छ भन्ने कुराले त्यसको दिशा निर्धारण गर्छ। कसको विचार सही र कसको विचार गलत भन्दै विचारबीचको संघर्षलाई दबाएर होइन, खुला वैचारिक बहस गर्दै, तथ्यमा आधारित रहि , रचनात्मक आलोचना–आत्मालोचना र व्यवहारको परीक्षणबाट सही संश्लेषणमा पुगेर मात्र क्रान्तिकारी पार्टी अगाडि बढ्न सक्छ। विभिन्न पार्टीहरुभित्र देखापरेका अन्तरविरोधहरूलाई ‘को सही, को गलत’ भन्ने व्यक्तिगत फैसलामा सीमित गर्नु हुँदैन बरु त्यसको साटो प्रश्न हुनुपर्छ।
१.कुन कार्यदिशाले श्रमजीवी वर्गको हित गर्छ?
२.कुन राजनीतिक लाइनले जनसंघर्षलाई अघि बढाउँछ?
३.कुन संगठनात्मक पद्धतिले पार्टीलाई जनतासँग जोड्छ?
४.कुन विचारले क्रान्तिको बाटो खोल्छ?
माथि लेखिएका प्रश्नहरू सिमित मात्रै हुन्। यस्ता प्रश्नहरू धेरै रहेका छन्।
लेनिनवादी संगठनात्मक पद्धतिको मुख्य सार जनवादी केन्द्रीयता, सामूहिक नेतृत्व, वैचारिक बहस, निर्णयमा एकता र निर्णयको कार्यान्वयनमा अनुशासन हो। केन्द्रीयता मात्रै भयो भने नौकरशाही जन्मिन्छ; जनवाद मात्रै भयो भने संगठनात्मक अराजकता आउन सक्छ। त्यसैले यी दुवैको द्वन्द्वात्मक एकताबाट मात्र सुदृढ क्रान्तिकारी संगठन निर्माण हुन्छ। अल्पमतलाई शत्रु ठान्नु गलत हो, बहुमतलाई शत्रु ठान्नु पनि गलत हो। अल्पमतको विचार सुन्ने संस्कार र बहुमतको निर्णय कार्यान्वयन गर्ने अनुशासन नै क्रान्तिकारी संगठनको चरित्र हो। हामीले इतिहासबाट एउटा गम्भीर पाठ सिक्नुपर्छ कि कम्युनिस्ट आन्दोलन व्यक्तिको वरिपरि घुम्न थाल्यो भने विचार कमजोर हुन्छ; गुट विचार भन्दा माथि पुग्यो भने संगठन कमजोर हुन्छ; संगठन जनताबाट टाढियो भने क्रान्ति कमजोर हुन्छ। त्यसैले अहिले हामीहरुलाई आवश्यक छैन एकले अर्कोलाई हराउने राजनीति; आवश्यक छ केवल गलत प्रवृत्तिलाई विचारले परास्त गर्ने र सही विचारलाई व्यवहारले प्रमाणित गर्ने राजनीति। पार्टीभित्रको दुई लाइन संघर्ष दुई पार्टी बन्ने प्रक्रिया होइन; सही लाइनको विकास गर्ने प्रक्रिया बन्नुपर्छ। विभाजनलाई अपरिहार्य ठान्नु द्वन्द्वात्मक भौतिकवाद होइन बरु अन्तरविरोधको जरा पहिचान गर्नु, त्यसको सामाजिक–राजनीतिक आधार खोज्नु, संघर्ष सञ्चालन गर्नु र उच्चस्तरीय एकतामा पुग्नु नै द्वन्द्वात्मक पद्धति हो।
व्यक्तिभन्दा विचार माथि उठोस्।
गुटभन्दा संगठन माथि उठोस्।
पदभन्दा वर्गसंघर्ष माथि उठोस्।
अहंकारभन्दा क्रान्तिको भविष्य माथि उठोस्।
आज सबै क्रान्तिकारी कमरेडहरूले आफैंलाई एउटा प्रश्न गरौँ।
हामी जनता,पार्टी र देश बचाउन संघर्ष गरिरहेका छौँ कि आफ्नो लाइन/गुट बचाउन?
हामी जनताको मुक्ति आन्दोलनलाई अघि बढाउन खोजिरहेका छौँ कि आफ्नो राजनीतिक अस्तित्वलाई?यदि हाम्रो लक्ष्य साँच्चै क्रान्ति हो भने, आत्मसमीक्षा गर्न कसैले डराउनु पर्दैन। गल्ती स्वीकार्नु पराजय होइन; गल्ती सच्याएर सही दिशामा अघि बढ्नु नै क्रान्तिकारी साहस हो। यदि क्रान्ति चाहेको हो भने आउनुहोस् मतभेदलाई वैचारिक बहसमा बदलौँ। बहसलाई सही संश्लेषणमा बदलौँ। संश्लेषणलाई क्रान्तिकारी कार्यदिशामा बदलौँ। र कार्यदिशालाई जनताको संघर्षसँग जोडौँ। किन भने पार्टी फुट्नु क्रान्तिको विजय होइन। गुट बलियो हुनु क्रान्तिको विजय होइन। कुनै व्यक्ति विजयी हुनु पनि क्रान्तिको विजय होइन। क्रान्तिको विजय तब हुन्छ, जब सही विचारले गलत विचारमाथि विजय प्राप्त गर्छ, पार्टी अझ सुदृढ हुन्छ र श्रमजीवी जनताको संघर्ष नयाँ उचाइमा पुग्छ।
१. दुई लाइन संघर्षलाई फुटको होइन, रूपान्तरणको शक्ति बनाऔँ!
२. जनवादी केन्द्रीयता र क्रान्तिकारी अनुशासन कायम गरौँ!
३. व्यक्तिवाद, गुटवाद र अवसरवादविरुद्ध वैचारिक संघर्ष गरौँ!
४. क्रान्तिकारी पार्टीको एकता र जनसंघर्षलाई नयाँ उचाइमा उठाऔँ!मार्क्सवाद–लेनिनवाद–माओवाद
क्रान्तिकारी एकता र श्रमजीवी जनताको मुक्ति आन्दोलन जिन्दावाद!





