यदुनाथ खनाल
नेपाली कांग्रेससँगको मेरो लामो राजनीतिक यात्रामा मैले एउटा कुरा निरन्तर महसुस गरेको छु । कांग्रेस केवल एउटा राजनीतिक संगठन होइन, यो लोकतान्त्रिक मूल्य, विचार र विविध क्षेत्रका मानिसलाई समेटेर अघि बढ्ने एउटा जीवन्त अभियान हो।
यसै सन्दर्भमा नेपाली कांग्रेसको विधान २०१७, (एघारौँ संशोधनसहित) तथा १५औँ महाधिवेशन निर्वाचन निर्देशिका, २०८३ मा ‘पेशागत’ तथा ‘पेशागत विषयविज्ञ’ का सम्बन्धमा गरिएको व्यवस्थालाई मैले विशेष महत्वका साथ हेरेको छु।
कानून व्यवसायी, चिकित्सक, इन्जिनियर, स्वास्थ्यकर्मी, चार्टर्ड एकाउन्टेन्ट, पत्रकार, शिक्षक, प्राध्यापक, प्राज्ञ तथा अवकाशप्राप्त राष्ट्रसेवकजस्ता आफ्नो ज्ञान, सीप र अनुभवको क्षेत्रमा योगदान गरिरहेका व्यक्तिहरूलाई पार्टीको सांगठनिक संरचना र नीति निर्माणमा सहभागी हुने अवसर प्रदान गर्नु आफैँमा लोकतान्त्रिक संस्कारको परिचय हो।
हामीले लामो समय राजनीति गर्दा संगठन निर्माण, जनसम्पर्क र संघर्षबाट धेरै कुरा सिक्यौँ। तर आजको समय अझ फरक छ। राष्ट्रका जटिल समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासँगै विषयगत ज्ञान, अनुसन्धान, प्रविधि र विशेषज्ञताको पनि उत्तिकै आवश्यकता छ। त्यसैले पेशागत क्षेत्रका दक्ष र अनुभवी व्यक्तिहरूलाई कांग्रेसको मूलधारमा जोड्ने प्रयासलाई मैले सकारात्मक र दूरदर्शी पहलका रूपमा लिएको छु।
यस व्यवस्थाले वर्षौँसम्म पार्टीको परम्परागत सांगठनिक संरचनामा सक्रिय हुन नसकेका तर आफ्नो पेशागत क्षेत्रमा देश र समाजका लागि महत्वपूर्ण योगदान गरिरहेका व्यक्तिहरूलाई पनि लोकतान्त्रिक राजनीतिक यात्रामा सहभागी हुने अवसर दिएको छ। यसबाट कांग्रेसको नीति निर्माण अझ तथ्यपरक, व्यावहारिक र समयसापेक्ष बन्न सहयोग पुग्ने विश्वास गर्न सकिन्छ।
सबैभन्दा ठूलो कुरा, यसले पेशाकर्मीहरूलाई दिएको सन्देश स्पष्ट छ,देश र लोकतन्त्रको सेवा गर्न राजनीतिमा आउन केवल राजनीतिक पृष्ठभूमि मात्र पर्याप्त शर्त होइनस आफ्नो ज्ञान, दक्षता, अनुभव र पेशागत क्षमता पनि राष्ट्रसेवाको माध्यम बन्न सक्छ।
एक कांग्रेस कार्यकर्ताका रूपमा म के भन्न चाहन्छु भने, पेशागत समुदायप्रति नेपाली कांग्रेसले देखाएको यो सम्मान र सहभागिताको अवसरका लागि हामी पेशाकर्मीहरू हृदयदेखि नै कृतज्ञ छौँ। यो कृतज्ञता केवल शब्दमा सीमित नरहोस् । आफ्नो पेशागत ज्ञान, इमानदारी र अनुभवलाई देश, लोकतन्त्र र जनताको हितमा समर्पित गरेर व्यवहारमा पनि देखाउन सकौँ।
हामीले बनाएको कांग्रेसलाई अझ सक्षम, समावेशी, आधुनिक र उत्तरदायी बनाउने यात्रामा राजनीतिक अनुभव र पेशागत विशेषज्ञता सँगसँगै अघि बढून्—यही आजको आवश्यकता हो।
(वरिष्ठ अधिवक्ता खनाल नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् ।)





