लुते प्रतिक्रियाले कांग्रेस जोगिन्न

  • ख-
  • ख+

हुतमणि अधिकारी
काङ्ग्रेस इतिहासको जटिल मोडमा खडा छ । सानोतिनो सुधारले अगाडिका चुनौती पार गर्ने र आगामी आमचुनावमा विजय हासिल गर्न सक्ने सम्भावना देखिँदैन । यसैले पार्टी भित्र जबर्जस्त रुपान्तरणको खाँचो छ । स्पष्ट विचार, सिद्धान्त, कार्यनीति, कार्यदिशा र एजेन्डाबिना नेताहरूको स्वार्थ र महत्वाकांक्षा केन्द्रीकृत स्थायी गुट, गिरोह तथा परिवार अनि वंशवादको चंगुलबाट पार्टीलाई मुक्त पार्नुपर्छ ।

कम्युनिस्टको एजेन्डा र हरकतमा ‘लुते प्रतिक्रिया र वक्तव्य’ दिएर बसिरहने हो भने कांग्रेसको औचित्य र अस्तित्व सकिने दिन नगिचै आउन सक्छ । कांग्रेस सत्तारुढ नेकपा भन्दा कसरी श्रेष्ठ छ, कसरी भिन्न छ । सरकारमा पुग्दा के के फरक काम गर्छ जनतालाई बुझाउन अनि कार्यकर्तामा जोश र विश्वास जगाउन जरुरी छ ।

साँच्चै कांग्रेसलाई बचाउने र अघि बढाउने हो भने स्थानीय तथा जिल्ला देखि केन्द्र सम्म लामो समयदेखि पार्टीमा हालीमुहाली जमाएका, आम जनता र कार्यकर्ताका नजरमा विकासमारा, फटाहा, सामन्त भनी बदनामी कमाएका केही नेताहरुबाट नै यसलाई जोगाउनुपर्छ ।

परीक्षण गरिसकिएका र फेल भैसकेका नेताहरुको सट्टामा नयाँ नेतृत्व आउनुपर्छ । पार्टीमा सांगठनिक पद्धति, संस्कृति र आचरण मरेको छ । बौद्धिक छलफल, विमर्श, चिन्तन ओइलाएको छ । अनुशासनहीनता, स्वेच्छाचारिता र दण्डहीनता मौलाएको छ । निष्ठा, त्याग, इमान र विचारको राजनीतिलाई विभिन्न खाले बिचौलिया र माफियाको मनि, मसलले गलाउँदै लगेको छ ।

आसन्न चौधौं महाधिवेशन एवं वडा देखि केन्द्रसम्म नेतृत्व चयनको यो अवसर हाल पार्टीमा देखिएका दुर्दान्त बिसंगति र कमजोरी हटाउने अवसर बनोस् । संगठन र देशलाई गति नयाँ दिशा र दृष्टि दिन सक्ने नेतृत्व स्थापित गर्न सफल बनोस् ।

देशभरका क्रियाशील सदस्य कार्यकर्ता र नेतृत्ववर्गलाई पार्टी बचाउने यो लगभग अन्तिम अवसरमा लोभ, स्वार्थ र अहंकारबाट मुक्त भइ स्वतन्त्र विवेक प्रयोग गर्ने सद्बुद्धि प्राप्त होओस् ।

(लेखक नेपाली काङ्ग्रेस केन्द्रीय संघीय मामिला तथा प्रदेश समन्वय विभागका सदस्य हुन् । )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी