
दमौलीः व्यास ८ को रिस्तीस्थित मतदान केन्द्रमा स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीमाथि सांघातिक आक्रमण भएको घटनापछि मतदान प्रक्रिया रद्द भएको छ ।
निर्वाचन आयोगको शनिबारको बैठकले यस्तो निर्णय गरेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिए ।

उनले आफूहरुले घटनाबारे जानकारी गराएपछि आयोग केन्द्रबाट यस्तो निर्णय आएको उनले बताए । अब रिस्ती क र ख केन्द्रमा पुनः मतदान हुने भएको छ ।
अब पुनः मतदानपछि मात्र व्यास नगरपालिकाको मतगणना हुने बताइएको छ ।
केन्द्रमा जोशीमाथि कांग्रेस कार्यकर्ताबाट कुटपिट भएको थियो । घटनामा एक सय मतपत्र च्यातिएको निर्वाचन कार्यालयले जनाएको छ । जोशीका तर्फबाट मतदान रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको थियो ।
हाल जोशी राजधानीको एक अस्पतालमा उपचाररत छन् ।