दमौली: नेपाली कांग्रेस तनहुँले जिल्लाका ८५ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सबै वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भए पनि कुनै पनि वडामा महिला सभापति चयन भएका छैनन्।
कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार ८४ वटा वडामा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । व्यास नगरपालिका–७ मा भने सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको थियो ।
वडा तहको कार्यसमितिमा महिलाको सहभागिता रहे पनि सभापति पदमा महिला प्रतिनिधित्व हुन सकेन । ८५ वटै वडामा महिला सभापति चयन नभएको तथ्यले वडा तहको नेतृत्वमा महिलाको सहभागिताबारे चासो बढाएको छ ।
सचिव खनालले महिलाले सभापति पदमा इच्छा व्यक्त नगरेकाले महिला सभापति चयन हुन नसकेको बताए । वडा तहमा महिलालाई नेतृत्वमा ल्याउने विषयमा आगामी दिनमा थप बहस आवश्यक रहेको जानकारी दिए।
वडा अधिवेशन सम्पन्न भएसँगै बुधबार तनहुँका १० वटै स्थानीय तहमा अधिवेशन भइरहेको छ । जिल्लामा चार नगरपालिका र छ गाउँपालिका छन् । स्थानीय तहको अधिवेशन पनि सर्वसम्मत रूपमा सम्पन्न हुने सम्भावना रहेको सचिव खनालले बताए ।





