शुरु भयो व्यापारीको महासंग्राम

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशन एवं ३५ औं वार्षिक साधारण सभा दमौलीमा शुरु भएको छ । दमौलीस्थित संघको आफ्नै भवनमा शुरु महाधिवेशनको पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले उद्घाटन गरे ।


व्यापारीको नेता छान्ने वर्ष भएका कारण यसपाली साधारण सभा कम महाधिवेशन बढी हावी देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, राष्ट्रिय सभा सदस्य प्रकाश पन्तलगायतको उपस्थितीमा भएको उद्घाटन कार्यक्रममा नेताहरुले व्यवसायिक चुनौतीका विषयमा पनि बोले पनि नेतृत्व चयनको सवालले समेत प्राथमिकता पाएको देखियो ।


व्यापारीको बाक्लो चहलपहलकाबीच भएको अधिवेशनको साधारण सभा मंगलबार नै सकिए पनि नयाँ नेता छान्न भने आगामी शनिबार मतदान हुँदैछ ।

यसपाली अध्यक्षका लागि हालका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रसहित पूर्व महासचिव पविन्द्रकुमार श्रेष्ठ र व्यवसायी अर्जुन अधिकारी आकांक्षी छन् । तीमध्ये मिश्र र श्रेष्ठ बलिया मानिन्छन् । हालका अध्यक्ष मानकाजी श्रेष्ठले अबको करिब एक सातामा नै निर्वाचित नयाँ कार्य समितिलाई नेतृत्व हस्तान्तरण गर्नेछन् ।

तर उनले हालका प्रथम उपाध्यक्ष मिश्रलाई बुझाउँछन् कि पहिलेका महासचिव श्रेष्ठलाई त्यो थाहा पाउन भने केही दिन कुर्ने पर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्