तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः मिश्र र श्रेष्ठका के के छन् चुनाव जित्ने तर्क

  • ख-
  • ख+

दमौलीः रस्साकस्सीपूर्ण कसरत र दौडधुपपछि तनहुँ उद्योग वाणिज्य संघको नेतृत्वका लागि चलिरहेको दौडले नयाँ गति पाएको छ । विगतमा दुई जना मात्र दौडमा उत्रने परम्पराविपरित यसपाली तीनैजना चुनावी दौडमा उत्रने संकेत देखिएको छ ।


तनहुँ उद्योग वाणिज्य संघको नेतृत्वमा प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र र यस अघि नै चर्चामा रहेका पूर्व महासचिव पविन्द्रकुमार श्रेष्ठसँगै नेकपानिकट अर्जुन अधिकारीसमेत दौडमा उत्रनुले माहोल केही फरक बनाएको छ ।

मुख्य दावेदार ठानिएका मिश्र र श्रेष्ठले एकै दिन केही घण्टाको अन्तरालमा पत्रकार सम्मेलन नै गरेर उम्मेदवारी प्रस्तुत गरे । मिश्र आफ्नो सम्भावित टिमका सदस्यबीच उत्रिए भने श्रेष्ठले सकेसम्म सजगता अपनाउँदै पदाधिकारी दावेदारलाई पत्रकार सम्मेलनमा उतारेनन् ।


म स्वभाविक दावेदारः मिश्र
आफ्नो उम्मेदवारी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रत्यासी मिश्रले आफूलाई अध्यक्षको स्वभाविक दाबेदारका रुपमा प्रस्तुत गरे । आफूले बजार एकाई तथा संघको महासचिव हुँदै अघि बढेको भन्दै उनले अब स्वभावैले अध्यक्षमा दाबेदारी गरेको बताए ।


धेरै नै काम गरेको भन्दै उनले अब नवीन प्रविधियुक्त सुढृढ सचिवालय व्यावस्थापन गर्ने नव निर्बाचित बजार ईकाइ कार्य समितिलाई आवश्यक तालिमको व्यावस्था गर्ने, साना मझौला व्यावसायी उधोगहरुको लागि सर्बसुलभ कर्जा उपलव्ध गराउने, हाल संघको सदस्य संख्यालाई दोव्वर बनाउने, व्यावसायी सटर भाडाका विष्यामा घरवेटी र व्यावसयी बिच सम्बन्ध राम्रो बनाउन संघले पहल गर्ने, सिसिक्यामेरालाई व्यावस्थित गदै विस्तार गर्नेलगायतका योजना अघि सारे ।


पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्षका प्रत्यासी सुरेश पुरीले तनहुँ उद्योग वाणिज्य संघका बजार इकाईका विभिन्न पदमा काम गरेको र लामो अनुभवका कारण प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

पत्रकार सम्मेलनमा संघको दमौली बजार एकाईका सभापति भुपाल आलेले संघमा रहेर सफल नेतृत्व अघि बढाएका कारण आफूहरु मिश्रलाई सभापतिमा अघि बढाउने पक्षमा रहेको र समर्थन गरेको घोषणा गरे ।


अहिलेको नेतृत्वले काम गर्न नसकेकाले काम गर्न अघि बढेको हुँः श्रेष्ठ
दमौलीको एक होटलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रत्यासी पविन्द्रकुमार श्रेष्ठले लामो समय संघमा आवद्ध रहँदा उल्लेखनीय काम गरेको भन्दै उम्मेदवारी दिएको बताए । ‘विगतमा म संघमा रहँदा व्यवसायिक हकहितमा धेरै काम भएको थियो,’ उनले भने,‘तर हालको नेतृत्वले प्रभावकारी काम गर्न नसकेकाले पनि मैले उम्मेदवारी दिएको हुँ ।’


उहाँले आफूलाई नेतृत्वमा रहेर उद्योग, व्यापार र व्यवसाय क्षेत्रको विकास अघि बढाउन उम्मेदवारी दिएको बताए । ‘व्यवसायी समस्यामा परेका छन्,’ उनले भने,‘रोजगारी श्रृजना र व्यवसायिक समस्या समाधानमा मेरो जोड रहनेछ ।’


उनले सङ्घको गरिमा उच्च राख्न भूमिका खेल्ने बताए । उनले अन्तिम समयसम्म पनि सहमतिको प्रयास जारी रहने भन्दै आफ्नै पक्षमा सहमति हुने आशा गरे ।

श्रेष्ठले केही दिनभित्रै टिमसहित उम्मेदवारी दिने पनि घोषणा गरे । कार्यक्रममा दमौली बजार एकाई उप सभापति राजेश मल्लले श्रेष्ठका पक्षमा मत दिन आग्रह गरे ।
पत्रकार सम्मेलनमा संघको बजार एकाइका विभिन्न पदमा विजयी पदाधिकारीहरु उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी