
पोखरा: गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले प्रदेशमा संक्रमितको संख्या बढेको देखाएको हो ।
कास्कीका ५, गोरखा र तनहुँका ३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या २३ सय १२ पुगेको छ । तीमध्ये १७ सय ६६ संक्रमित निको भएका छन् ।
कोभिड उपचार केन्द्रमा ३७ वर्षेको ज्यान गयो
पोखरामा थप १ संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा ६ का ३७ वर्षे पुरुषको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका ६ का ती पुरुष संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट आजै रेफर भएर आएका थिए । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन् ।उनको साँझ ६ बजेतिर ज्यान गएको थियो ।
उता, नवलपुरका एक कोरोना संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका २ का ३७ वर्षे पुरुषको बिहीबार दिउँसो मृत्यु भएको चितवन मेडिकल कलेजले पुष्टि गरेको छ ।
हेपाटाइटिस र मृगौला पीडित उनी गत ९ भदौमा अस्पताल पुगेका थिए । १० भदौमा कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।