ब्याटलग्राउण्ड दमौली २: दमौलीमा शक्ति प्रदर्शनपछि जोशी-एमाले समूह कत्तिको आशावादी ? (विगतको आँकडासहित )

  • ख-
  • ख+

विकास खनाल

दमौलीः स्थानीय तह निर्वाचनको प्रचारप्रसार सकेर मौन अवधि शुरु हुनु केही घण्टा अघि मात्र व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका दीपकराज जोशी तथा एमाले गठबन्धनले शक्ति प्रदर्शन गर्यो । केही दिन अघि कांग्रेस केन्द्रीय नेतृत्वको उपस्थितीमा सभा भएकै ठाउँमा त्यसलाई बिर्साउने गरी समूहले संयुक्त सभा गरेको थियो ।


असन्तुष्ट कांग्रेसी र एमाले समेतको समर्थनमा कैंची चिह्नका साथ मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका जोशीसँगै गठबन्धनबाट उप प्रमुखमा प्रतिष्पर्धामा रहेकी बसुन्धरा घर्तीको पक्षमा माहोल तयार पार्न सभा गरिएको थियो ।


कांग्रेसका असन्तुष्ट र पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसमेतको साथमा एमालेको आधिकारिक तथा नेकपा एस्को अनौपचारिक समर्थनमा चुनावी मैदानमा अघि बढेका जोशी यसपाली केही बढी आशावादी देखिएका छन् । आफ्ना पिता गोविन्दराजको व्यक्तिगत र पार्टीगत नेटवर्क अनि युवामाझ आफूले बनाएको व्यक्तिगत प्रभावका साथमा एमालेको औपचारिक र नेकपा एस्को अघोषित साथमा अघि बढेका दीपकराज यसपालीको चुनावमा विजयी हुनेमा आशावादी छन् ।


र, त्यसैका लागि आफ्नो पक्षमा माहोल देखाउन कांग्रेसको सभापछि सभा तय गरिएको जानकार श्रोत बताउँछ । आफ्ना प्रतिष्पर्धी कांग्रेसका आधिकारिक उम्मेदवार बैकुण्ठ न्यौपाने बजारी क्षेत्रसँगै गाउँमा केन्द्रीत भैरहेका बेला समूहले भने बजारमा गाउँसमेतका मानिस उतारेर आफूहरु कमजोर नरहेको संकेत गरेको छ ।

विगतको आँकडा
२०७४ सालमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपाने १३ हजार ६५ मत ल्याएर विजयी भएका थिए ,भने एमालेका शंकर नारायण श्रेष्ठले ९ हजार ५ सय ९२ मत ल्याएका थिए ।नेकपा माओवादी केन्द्रको मेयरमा उमेदवारी नदिइ बैकुण्ठ न्यौपानेलाइ सघाएको थियो । त्यसबेला उप मेयरमा अतिन्द्रकेशरी न्यौपानले ३४ सय ७७ मत ल्याएका थिए ।


यसबीचमा नेकपा एमाले विभाजन भएर नेकपा एकिकृत समाजवादी बनेको समाजवादीको अहिले मेयरमा उम्मेदवार छैनन् । समाजवादीले कसलाइ सहयोग गर्ने औपचारिक रुपमा नखुलाए पनि उसको समर्थन दीपकराजलाई हुने चर्चा आम राजनीतिवृत्तमा छ ।


तीन प्रतिस्पर्धीबाहेक ब्यासमा मेयर पदका लागि ११ जना प्रतिस्पर्धामा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दौलत अधिकारी, साझा विवेकशिलबाट रमेश आचार्य लगायत 11 उम्मेदवार छन् । कुल ४७ हजार ५ सय ४२ मतदाता रहेको मध्ये २५ हजार १ सय २९ महिला मतदाता र २२ हजार ४ सय १३ पुरुष मतदाता छन् ।


माओवादी केन्द्र समेत आफ्नो सांगठनिक हिसाबले मैदानमा रहे पनि व्यासको प्रमुखमा पार्टीको बलियो संगठनको फाइदामा रहेका निवर्तमान प्रमुख कांग्रेस उम्मेदवार रुख चिह्नधारी बैकुण्ठ न्यौपाने र कांग्रेसका असन्तुष्ट तथा पिता गोविन्दराजको व्यक्तिगत प्रभावसँगै एमालेको आधिकारिक साथ पाएका कैंची चिह्नधारी मेयर उम्मेदवार दीपकराज नै मुख्य प्रतिष्पर्धी हुन् । र, उनीहरुमध्ये को विजयी हुनेछन्, राजनीतिक पण्डितहरुले आ आफ्नै अड्कलबाजी गरेका छन् ।

त्यसको नतिजा भने मतदाताले दुई दिन पछि कैद गर्ने मतपत्रमा सुरक्षित हुनेछ । र, चुनावी परिणाम आफ्नो पक्षमा पार्न दुवै समूहको मौन अवधिमा देखिने अव्यक्त प्रतिष्पर्धाले त्यसको आधार निर्धारण गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी