दमौली अब सुविधा सम्पन्न

  • ख-
  • ख+

पवन पौडेल दमौली ,  छिमेकका ठूला सहरका तुलनामा विकासका भौतिक पूर्वाधार कम भएको आरोप खेप्ने गरेको दमौलीमा अब योजनाअनुसार काम भएमा केही दुई वर्षभित्रमै आकर्षक संरचना थपिने भएका छन् । आधुनिक सिटी हल, आकर्षक सुविधा सम्पन्न पर्यटक पार्क र व्यवस्थित बसपार्कको दमौलीमा अभाव छ । तर योजनाअनुसार काम भएमा यी तीनवटै संरचनाले व्यास नगरपालिका सुसज्जित बन्नेछ ।

करोडौंका योजनाका तीनवटै काम बहुवर्षे ठेक्का प्रणालीमा शुरु हुने भएकाले काम दुई वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाका प्रमुख डिभिजन इञ्जिनियर रोशन श्रेष्ठले बताए ।  व्यास ३ मा हाल रहेको जिल्ला सभागृहलाई भत्काएर सोही ठाउँमा सात सय ५० जना अट्ने व्यवस्थित सिटी हलका लागि कार्यालयले टेण्डर खुलाइसकेको छ । अनुमनित ३३ करोड लागत स्टिमेट गरिएको हलको टेण्डर भाद्र पहिलो सातामा खुलेर निर्माणको काम अघि बढाइने लक्ष्य राखिएको छ । 

अपांगतामैत्री सिटी हल परिसरमा आधुनिक पार्किङ संरचना हुनेछन्, जसले २१ कार र ६० मोटरसाइकल पार्किङको क्षमता राख्नेछ । पुरानो जिल्ला प्रशासन भवनसमेत भत्काएर वृहत क्षेत्रफलमा निर्माण गर्न लागिएको सिटी हल दुई तल्ले हुनेछ । पहिलो तल्लामा ह्विलचियरसहित अपांगता भएका व्यक्तिहरु सहज पस्ने प्रबन्ध हुने इञ्जिनियर श्रेष्ठले बताए ।  हाल दमौलीमा रहेको एक मात्र सरकारी सभागृह पुरानो र जीर्ण बने पछि त्यसलाई भत्काएर विकल्पमा बढी  क्षमतायुक्त सिटी हल बनाउने प्रस्ताव यसअघि नै आएको थियो । यसै आर्थिक वर्षमा काम थाल्ने बताइएको हलको निर्माण कार्य ३० महिनामा सकिने इञ्जिनियर श्रेष्ठले बताए । तर हल बनाइंदा हल रहेको बेलको चौतारो भने भत्कने भएको छ ।

२०३० सालमा बीपी कोइरालाले बहुदल प्राप्तिको आन्दोलनमा भाषण गरेको तथा दशैंमा फुलपाती बढाइं गरिने दुईवटै बेलचौतारालाई भत्काउनु पर्ने प्राविधिकको राय भए पनि जनप्रतिनिधिले भने यसलाई पनि योजनाभित्रै समेटेर जोगाउन सुझाव दिएका छन् । जिल्ला समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले संरचना बन्नु सबैका लागि गौरवको विषय भएको बताए । उनले हललाई तनहुँ सिटी हल नामाकरण गर्न सुझावसमेत दिए । उनले ऐतिहासिक तथा सांस्कृतिक बेलको चौताराको समेत संरक्षण हुने गरी काम गर्न सुझाव दिए । पूर्व ओभरसियर हरिभक्त भट्टराईलेसमेत बेलको चौताराको महत्वका आधारमा त्यसलाई समेत जोगाउने गरी काम गर्न सुझाव दिए ।

  ऋषिको तपोभूमिमा व्यास पराशर पार्क व्यास ५ पाटनस्थित महर्षि वेदव्यासका पिता महर्षि पराशरले तपस्या गरेको पराशर गुफा तथा आसपासका सार्वजनिक जमिनको उपयोग गरी व्यवस्थित ‘व्यास–पराशर पार्क’ बनाइने भएको छ । सहरी आवास तथा भवन निर्माण कार्यालय गोरखाले यसका लागि डिजाइनिङको काम सकिसकेको डिभिजन प्रमुख रोशन श्रेष्ठले बताए । ‘प्राचीन व्यास तथा पराशरको भूमिमा पर्यटकीय हिसाबले समेत पार्क उपयुक्त छ,’ उनले भने,‘हामी यसै वर्ष ठेक्का सम्झौता गरेर काम थाल्दैछौं ।’ जिल्ला दररेट निर्धारण नभएका कारण लागत स्टिमेट हुन नसकेको उनले बताए । मादी र सेती नदीको किनारमा बन्ने पार्कमा दुवै नदीको पानी बग्ने प्रबन्ध गरिनेछ । यसैगरी हरियाली वातावरणमा मानिसहरुलाई आकर्षक लाग्ने बगैंचासमेत बनाउने योजनामा समावेश छ । 

दमौली बसपार्कको स्तरोन्नती तत्कालीन स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्रतिबद्धता जनाएको दमौली बसपार्कको स्तरोन्नतीसमेत यसै वर्ष शुरु हुने भएको छ । यसका लागि समेत भवन निर्माण गोरखाले डिजाइन तयार पारिसकेको छ । हालको बसपार्क रहेको कराङकाठमैं व्यवस्थित बाटो र जमिनसमेत उठाएर वृहत पार्क बनाउने तयारी गरिएको इञ्जिनियर श्रेष्ठले बताए ।  बसपार्कलाई दमौली तथा आसपासका भागबाट भादगाउँबाट बुद्धसिं  र छाब्दी तथा दमौलीबाट पृथ्वी राजमार्गमा सोझै जोड्ने गरी संरचना तयार हुने इञ् िजनियर श्रेष्ठले बताए । पार्कको समेत डिजाइन शुरु भए पनि जिल्ला दररेट तयार नभएकाले लागत स्टिमेट तयार नभएको भन्दै इञ्जिनियर श्रेष्ठले यसै आर्थिक वर्षमा ठेक्का लगाएर बहु वर्षे ठेक्कामा काम थालिने जानकारी दिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी