दमौली: राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवालाई पहुँच योग्य बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले भिमाद बजारमा दुई वटा विवरण दर्ता स्टेशन सञ्चालन गर्ने भएको छ । यस व्यवस्थाबाट भिमाद नगरपालिकासहित घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र आसपासका बासिन्दा लाभान्वित हुने छन् ।
जिल्लाको पश्चिमी तथा दक्षिणी क्षेत्रका नागरिकले राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सदरमुकाम दमौली धाउनुपर्ने बाध्यता हटाउन स्थानीयस्तरमै टोली खटाउन लागिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । यस बाट सेवाग्राहीको समय र यात्रा खर्च बचत हुने प्रशासनको भनाइ छ । प्रशासन कार्यालयले चाप नियन्त्रण र सहज सेवाका लागि यसअघि बिदाका दिन र साउन ८ गते देखि दैनिक अतिरिक्त समयमा समेत दर्ता कार्य गर्दै आएको छ । साउन २३ र २४ गते बिहान ९ देखि अपराह्न ५ बजेसम्म सेवा सञ्चालन गरिएको थियो ।
भीडभाड व्यवस्थित गर्न टोकन प्रणाली लागू गरिएको छ । सेवाग्राहीको चाप बढेपछि जनशक्ति र मेसिन थपका लागि माथिल्लो निकायमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । भिमादमा स्टेशन स्थापना भएपछि तनहुँको पश्चिमी र दक्षिणी भेगका बासिन्दाले पायक पर्ने स्थानबाटै सेवा पाउने उनको भनाई थियो।





