बहुमतको सरकारले जनताको भोको पेट भर्न सकेनः भण्डारी

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले बहुमतको सरकार भए पनि यसले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

तनहुँको दमौलीमा स्कुल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाको पदस्थापना कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले नागरिक भोकै बस्नु पर्दैन भने पनि नागरिक भोक मेट्नकै लागि भारत जान सीमामा लाइन लागिरहेको बताए । ‘बहुमतको र बलियो सरकार भए पनि यसले नागरिकको भोको पेट भर्न सकेन,’ उनले भने ।

देशमा आर्थिक समृद्धि ल्याउने कुरा घोषणापत्रमा राखे पनि सरकारले समृद्धि दिन नसकेको जिकिर गरे । प्रशासनिक तथा सुरक्षा क्षेत्रमा अस्तव्यस्तता र मनलाग्दी गरेर सरकारले अस्थिरता फैलाएको भण्डारीको आरोप थियो ।

कांग्रेसलाई विधिपूर्वक चलाउनुपर्छ
कांग्रेसनिकट युवाहरु आवद्ध संस्थाका पदाधिकारीलाई बधाई ज्ञापन गर्दै उनले नेपाली कांग्रेस राष्ट्रवादी पार्टी भएको र यसलाई नीति र विधिमा चलाउनु पर्छ भन्ने पक्षमा सधैं आफुले आवाज उठाईरहेको बताए । उनले संस्थामा भविष्य बोकेका युवाहरू रहेको भन्दै यसले तनहुँ काङ्ग्रेसलाई मजवुद बनाउन सहयोग मिल्ने विश्वास आफूले लिएको बताए ।


जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले स्कुल अफ डेमोक्रेसीले लोकतन्त्रको पहरेदारको रुपमा काम गर्नुपर्ने बताए । नेपाली काङ्ग्रेस तनहुँका सचिव विश्व बाँस्तोलाले नाम अनुसार नै संस्थाले लोकतन्त्रलाई बलियो बनाउने उद्देश्य राख्नुपर्ने बताए । उनले सुशासनको मामिलामा सरकार कमजोर रहेको आरोप लगाए ।

संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीको अध्यक्षतामहा भएको कार्यक्रममा उपाध्यक्ष दीर्घबहादुर थापा, सचिव बसन्त कंडेल लगायतले बोलेका थिए । कार्यक्रमका प्रमुख अतिथि भण्डारीले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

संस्थामा सहसचिव सरोज भण्डारी , कोषाध्यक्ष मिला दरै, सदस्यहरू विजय गुरूङ, शैलेष खाती, प्रकाश हड्खले, स्वस्तिका भट्टराई गैह्रे, गजेन्द्र पौडेल, बिपिन कुवँर , सुमन थापामगर, संगित घिमिरे, रिया गुरूङ, सकिना खातुन, जब्बर मियाँ, मनबहादुर रूचाल, ईश्वरराज पन्त, दलबहादुर दुरा लगायत २३ सदस्य छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी