
प्रकृति खनाल न्यौपाने
दमौलीः व्यास नगरपालिका सामाजिक तथा शिक्षा शाखा अन्तरगत महिला बालबालिका तथा समाज कल्याण उपशाखाको आयोजनामा ३ दिने महिला जनप्रतिनिधिका लागि महिला नेतृत्व विकास कार्यक्रम सञ्चालन गरिएको छ ।
तालिमको प्रभावकारिता, व्यवहारिता तथा नेपालको संविधान २०७२ को संविधानमा प्रदत्त महिलाहरूको हक अधिकार तथा महिला हक, हित र संरक्षणका लागि नेपालको कानुन लगायतका विषयमा नगर प्रमुख बैकुण्ठ न्यौपानेले महिला जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए ।
व्यास नगरपालिकाको तालिम हलमा सञ्चालित कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले महिला जनप्रतिनिधिको चौतर्फी क्षमता विकास गर्न यस सान्दर्भिक कार्यक्रमको आयोजना गरिएको जानकारी दिएकी थिइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जनप्रतिनिधि को नेतृत्व क्षमता वढाउन जनप्रतिनिधिको समेत हात हुने भएकाले आफ्नो तर्फबाट यस्ता तालिम, गोष्ठी, प्रशिक्षण लगाएतका क्षमता विकास हुने कार्यक्रमहरूको माग र कार्यन्वयन हनुपर्नेमा जोड दिएका थिए ।
तालिममा महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास तथा जनप्रतिनिधिकोे क्षमतालाई बढवा दिइने गरि विभिन्न विषयहरूमा प्रशिक्षण गरिने नगरपालिकाले जानकारी दिएको छ ।
प्रशिक्षणमा महिलाको अधिकार तथा संरक्षणका लागि भएका कानुनी व्यवस्था ,महिला नेतृत्व, भाषणकला, संस्थागत जिम्मेवारी, जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार, प्रस्तावना लेखन,सामाजिक जवाफदेहिता ,महिलाहरूको ऐतिहासिक अवस्था, कार्यक्रम प्रस्तोता लगायत व्यवहारिक विषयमा योग्य प्रशिक्षकद्वारा प्रशिक्षणको व्यवस्था गरिएको महिला,बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख राधा आचार्यले जानकारी दिइन् ।
आइतबार उद्घाटन गरिएको प्रशिक्षणको १२ विषयवस्तु तथा अन्य सहायक विषयवस्तुमा व्यास नगरपालिकाका २६ जना महिला जनप्रतिनिधि प्रशिक्षण लिइरहेका छन् ।