रुम टु रिडद्वारा म्याग्दे र भिमादका ७७ परिवारलाई खाद्यान्न सहयोग

  • ख-
  • ख+

दमौली: रुम टु रिड नेपाल, फिल्ड कार्यालय तनहुँले जिल्लाका ७७ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । भिमाद नगरपालिकाका ४० र म्याग्दे गाँउपालिकाका ३७ परिवारलाई चामल, दाल, तेल, नुन लगायतका अति आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको हो ।

रुम टु रिड नेपाल, फिल्ड कार्यालय तनहुँले शनिबार भिमाद नगरपालिकाका ४० परिवारका लागि तयार खाद्य सामग्री भिमाद नगरपालिकाले स्थापना गरेको राहत कोषमा हस्तान्तरण गरेको छ । यसैगरी, म्याग्दे गाउँपालिका ३७ परिवारलाई पनि शनिवारै वितरण गरेको छ ।


म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना र उपाध्यक्ष बालकृष्ण घिमिरेको उपस्थितिमा सम्पन्न खाद्य सामग्री वितरण कार्यक्रममा रुम टु रिड नेपालको साझेदार संस्था नेपाल गाजा डेभलप्मेन्ट फाउण्डेसनका साक्षरता कार्यक्रम संयोजक उज्जवल खनालको समेत उपस्थिति रहेको थियो ।

भिमाद नगरपालिकालाई हस्तान्तरण गरिएको सामग्री नगरपालिकाले १,२ दिनमै विपन्न परिवारको पहिचान गरी वितरण गर्ने रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत एलबी खड्काले जानकारी दिए ।


बालबालिकाको पढ्ने सीप र पढ्ने बानीको विकासमा सहयोग गर्न क्रियाशिल संस्था रुम टु रिडले वैकल्पिक तरिकाले सिकाइ सहजीकरणका लागि रेडियो स्कुल, फोन पाठशाला, फोन मार्फत अभिभावक सचेतीकरण, अनलाइन पुस्तकालय लगायतका गतिविधिहरु सञ्चालन गरिरहेको छ ।

कोरोना महामारीबाट प्रभावित विपन्न परिवारका बालबालिकालाई केही हदसम्म सहयोग पुगोस् भनेर खाद्यान्न सहयोग गरेको संस्थाका जिल्ला फिल्ड कार्यालय प्रमुख सुशिल तिम्सिनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी