
दमौलीः जलदेवी आमा समूह व्यास ४ ले कौसीखेती तथा नेतृत्व विकास तथा कुहिने फोहोर व्यवस्थापन सम्बन्धी तीन दिने तालिम बिहीबार शुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाको उप प्रमुख मीरा जोशीले यस्ता व्यवहारिक तालिमले महिलाहरू लगायत सम्पूर्ण नगरवासीलाई फाइदा पुग्ने भएकाले प्राथमिकताका आधारमा तालिमका सैद्धान्तिक कुरालाई व्यवहारमा उतार्न सम्पूर्ण प्रशिक्षार्थीलाई जोड दिदै नगरपालिकाले यस्ता कुरामा साथ,सहयोग र समर्थन जुटाउने धारणा राखेकी थिइन् ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले तालिमको प्रभावकारिताको व्यवहारिकतावारे नगरवासी नै सरोकारवाला पक्ष भएकाले हर कुराको नेतृत्व गर्न, स्वम् नगरवासीनै जिम्मेवार र उत्तरदायित्व वहन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रमका अतिथि व्यास नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष विश्व न्यौपानेले सक्षम नेतृत्वको लागि वडाले स्रोत र साधनले सकेको जति सैद्धान्तिक र व्यवाहारिक तालिमहरू दिदै आएको प्रष्ट पारे।
तालिम उद्घाटनमा बोल्दै नगरपालिकाका वरिष्ठ अधिकृत, राजेन्द्र कार्कीले हामीले हर सिकेका कुरालाई व्यवहारमा उतार्न सकेमा मात्र सिकेको काम हुने भएकाले जानेका सिद्धान्त तथा तालिमहरू छरछिमेक तथा टोल सबैतिर सिकाउनुपर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै वडाकी महिला सदस्य तथा वडा तालिम संयोजक बसन्धरा घर्तीले वडा नम्बर ४ले महिलाहरूको नेतृत्व साथै आर्थिक उपार्जजनमा समेत टेवा पुग्ने खाले कार्यक्रम गर्दै आएको धारणा राखिन् ।
पहिलो दिन महिला नेतृत्ववारे महिला सशक्तीकरण सञ्चार समाज तनहुँकी अध्यक्ष प्रकृति न्यौपानेले प्रशिक्षण गरेकी थिइन्।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै जलदेवी आमा समूहकी अध्यक्ष गौकुमारी श्रेष्ठले सबै समुहका सदस्यहरूलाई तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न तर्फ ध्यानदिन जोड दिएकी थिइन्।
तिनदिनसम्म चल्ने तालिममा प्रशिक्षकका रूपमा तोकिएका क्षेत्रका विज्ञ बोलाइने समुहकी सचिव मेनका कट्टेलले जानकारी दिइन्।