व्यास १० सेवर युवती मृत्यु प्रकरणः शव पोष्टमार्टमका लागि पोखरा

  • ख-
  • ख+

पति र देवरविरुद्ध जाहेरी दर्ता
दमौली:
व्यास १० सेवरकी मृतक युवती शुकु परियार गुरुङको शवको पोष्टमार्टम पोखरामा गरिएको छ । गत बिहिबार झुण्डिएको अवस्थामा फेला परेकी उनलाई उपचारका लागि दमौली ल्याइएकामा उनको त्यहीं ज्यान गएको थियो ।


आफन्तले कर्तव्यज्यान मुद्दामा पति नवराज र देवर शिशिरविरुद्ध जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । पहिले दमौली अस्पतालमा पोष्टमार्टमको प्रयास गरिएको भए पनि माईतीपक्ष र चिकित्सक समेतको सुझावका आधारमा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले बताए । ‘पोखरामा पोष्टमार्टमका लागि पठाइएको छ । केही दिनमा रिपोर्ट आउला,’ उनले भने ।


तर माइती पक्षले भने आफूहरुले पोखरामा पोस्टमार्टमका लागि दबाब नदिएको बताएका छन् । रिपोर्ट आउन केही दिन लाग्ने अस्पताल श्रोतले बताएको छ । प्रहरीले नवराज र शिशिरविरुद्ध मुद्दामा अनुसन्धानका लागि आईतबार अदालत पेश गर्ने तयारी गरेको छ ।


घरमा भएको पारिवारिक विवादका क्रममा देवर शिशिरले हातपात गरे पछि शुकुले आत्महत्या प्रयास गरेकी थिइन् ।

प्रहरीका अनुसार देवरको कुटपिटपछि कोठामा झुण्डिएको अवस्थामा भेटिएकी पत्नीलाई पति नवराजले पासो फुकाएर दमौलीमा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरिदिएका थिए । त्यसयता माइती पक्षले घटना कर्तव्य ज्यान भएको दाबी गर्दै अनुसन्धानको माग गर्दै आएको छ ।

माइतीबाट फर्केपछि विवाद
युवती माइतीबाट फर्केपछि घरमा विवाद भएको माइती पक्षको दाबी छ । दिदी लक्ष्मीका अनुसार शुकु बुधबार व्यास १० दुम्सीचौरस्थित माइती गएर बिहिबार फर्केकी थिइन् । फर्केपछि घरमा झगडा परेको उनको भनाई छ ।

दुईबीच प्रेमविवाह नै भएको थियो । तर केही समययता बहिनीले घरमा झगडा हुने गरेको बताएको उनले बताइन् ।
पाँच महिनाको गर्भ थियो
लक्ष्मीका अनुसार शुकु पाँच महिनाकी गर्भवती थिइन् । ‘उसको पेटमा पाँच महिनाको बच्चा थियो,’ उनले भनिन् । उनीहरु तीन वर्षयता प्रेममा रहे पछि १० महिना अघि वैवाहिक सम्बन्ध गाँसिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी