
दमौलीः रातभर परेको अबिरल वर्षाका कारण व्यास १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको छ । पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्क बिच्छेद भएको छ ।
छाब्दी खोलामा ठूलो बाढी आए पछि पुल भत्किएको भादगाउँका स्थानीय एवं कांग्रेस सचिव विश्व बाँस्तोलाले जानकारी दिए । उनले स्थानीय केही घर जोखिममा परेको समेत बताए ।
पानीको बहाव अझ नघटेमा थप क्षति हुने सम्भावना देखिएको उनले बताए ।
पृथ्वी राजमार्ग अन्र्तगत छिर्कनेमा पाँच ठाउँमा खसेको पहिरोमध्ये केही हटे पनि केही ठाउँमा अझै हटाउने काम जारी छ । प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाका अनुसार पहिरो हटाउने प्रयत्न भैरहेको छ । बिहान साढे तीन बजेदेखि नै राजमार्ग अवरुद्ध छ ।
अन्य धेरै ठाउँमा पनि पहिरो खसेको जानकारी आए पनि हालसम्म मानवीय क्षति भने नसुनिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । ‘धेरै ठाउँमा पहिरो खसेका विवरण आएका छन्,’ उनले भने,‘हालसम्म मानवीय क्षति छैन ।’