व्यासमा लागूपदार्थ दुव्र्यसनः कलिला उमेरका प्रयोगकर्ताको डरलाग्दो अवस्था (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः लागूपदार्थ दुव्र्यसनबाट जोगाउन अभिभावकको भूमिका परिवर्तन गर्नुपर्नेमा दमौलीमा आयोजित एक कार्यक्रमका सहभागी विज्ञले जोड दिएका छन् ।


श्रृजनशील युवा मञ्च तनहुँद्वारा लागूपदार्थको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित भर्चुअल अन्र्तक्रियाका प्रमुख वक्ता मनोवैज्ञानिक परामर्शदाता डा. सु्शील कँडेलले अभिभावकले स साना कुरामा मात्र ध्यान दिने र साथी बन्ने हो भने धेरै बालबालिका दुव्र्यसनमा नफस्ने बताए ।


‘झारा टार्ने अभिभावक नबनौं’
‘हामीकहाँ अभिभावक भन्ने तर झारा टार्ने प्रवृत्ति बढी छ,’ उनले भने,‘तर उनीहरु के गर्छन् कसो गर्छन थाहा हुँदैन ।’ उनले अभिभावक छोराछोरीको साथी बन्ने र हरेक गतिविधिको जानकारी लिने र गलत बाटोमा जान दिन नहुने बताए । ‘पैसा कहाँ कसरी खर्च गर्छन्, कोसँग के गर्छन् सबै जानकारी हुनुपर्छ,’ उनले भने,‘छोराछोरीलाई कोठामा ढोका लगाएर बस्ने होइन बुबाआमाले हरेक कुरामा साथी बन्नुपर्छ ।’

पक्रन भन्दा बाटोमै लाग्न नदिऔं
डा. कँडेलले अहिले लागूऔषध प्रयोगकर्तालाई पक्रने तर त्यो बाटोमा जानबाट रोक्ने काम कतैबाट नभएको भन्दै दुखेसो गरे । ‘हामी प्रयोगकर्तालाई पक्रनेतिर बढी केन्द्रीत छौं,’ उनले भने,‘यसरी लागूऔषध नियन्त्रण सम्भव छैन ।’ उनले बालबालिका र युवालाई त्यस बाटोमा जानै दिन नहुने र यसका लागि अभिभावक अनि समाजमा सचेतना फैलाउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको औंल्याए ।


कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले कानूनले निषेध गरेको लागूऔषधको अवैध ओसापसार रोक्न प्रतिवद्धता जनाए । ‘कार्यक्रममा उठेका विषय जायज छन्,’ उनले भने,‘हामी प्रयोग कम गराउन भूमिका खेल्न प्रतिवद्ध छौं ।’


व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले नगरपालिकाले लागूऔषधमा बालबालिका तथा युवा जाने अवस्था रोक्नु अपरिहार्य भन्दै यसका लागि नगरपालिकाले सचेतनामूलक काममा सघाउने प्रतिवद्धता जनाए ।

‘हामीकहाँ लागूऔषध नियन्त्रणकै लागि भनेर पैसा त छैन,’ उनले भने,‘तर सचेतना फैलाएर प्रयोगको बाटोमा बालबालिकालाई जान नदिन हामी कार्यक्रम गर्न तयार छौं ।’


साना उमेरमा ओसारपसार गर्नेको संख्या उच्चः डिएसपी तिमल्सेना
कार्यक्रममा प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले लागूओषध प्रयोगमा दायर मुद्दामा अधिकांश किशोर र युवा रहेको भन्दै यो अवसथा नियन्त्रणका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

‘लागूऔषधको ओसारपसारमा मुद्दा चलाउनुपर्ने उमेरका ४६ जना बालबालिका र किशोर छन्,’ उनले भने,‘कम उमेरमै लागूऔषध प्रयोग र ओसारपसारमा लाग्ने बढी छन् ।’ उनले यसको नियन्त्रणका लागि स्थानीय तहले सचेतनामूलक कार्यक्रममा चासो दिएमा प्रहरीलाई सहज हुने बताए ।


‘अभिभावक भूमिका सच्याउन तयार’
कार्यक्रममा रेडक्रस सोसाइटी तनहुँका उप सभापति एवं अभिभावक मञ्च नेपाल तनहुँका अध्यक्ष ऋषिराम पोखरेलले अभिभावकले सुधार गर्नु पर्ने पक्षमा तयार रहेको भए पनि राज्यले पनि प्रयोगको बाटोमा जान नदिन शिक्षा र अरु वातावरणमा लाग्नुपर्ने बताए ।


नवयुवा क्लबका अध्यक्ष सनम तामाङले व्यास १ मा लागूऔषध प्रयोगकर्ता उच्च रहेको भन्दै सचेतना फैलाउने काममा सघाउन प्रतिवद्ध रहेको बताए । मञ्चका कार्यक्रम संयोजक पवन चुमीले सचेतना निरन्तर फैलाउनुपर्ने भन्दै सहकार्य गर्न तयार रहेको बताए ।


मञ्चका अध्यक्ष पवन पौडेलले दिवसका अवसरमा सचेतनमूलक कार्यक्रम भैरहेको जानकारी दिए । मञ्चले व्यास नगर क्षेत्रका विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता पनि गर्दैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी