व्यासको नीति तथा कार्यक्रमः मादी नदी एकिकृत विकास परियोजना दमौली ‘ताररहित सहर’सम्म (कार्यक्रमसहित)

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले भौतिक पूर्वाधारदेखि सहरी विकाससम्मका विषयलाई आर्थिक वर्ष ०७८।०७९ को नीति तथा कार्यक्रममा समावेश गरेको छ ।


३५ औं नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरपालिकाले बहुद्देश्यीय भवन निर्माण गर्ने तथा विभिन्न वडा कार्यालयका पुराना भवन विस्थापन गर्ने उल्लेख छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुरु सभामा उप प्रमुख मीरा जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका योजना सार्वजनिक गरिन् ।


नगरपालिकाले मूल कार्यालय नयाँ बहुउद्देश्यीय भवनमा सञ्चालन भएको भन्दै पुराना संरचना हटाई अर्को चार तले बहुउद्देश्यीय भवन निर्माण गर्न नगर विकास कोषसँग सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ । वडा नं.५ र ९ को वडा कार्यालय यसै वर्ष आफ्नै भवनमा स्थानान्तरण भई सेवा सञ्चालन गरेको र वडा नं.१ को वडा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै नगरपालिकाले वडा नं.६, ८, १२, १३ र १४ का पुराना भवनहरुलाई हटाई पुनः निर्माण गर्नुपर्ने योजना बनाएको छ ।


एक सय ८ फिट अग्लो मूर्ति
नीति तथा कार्यक्रममा संघीय सरकारसँगको समपुरक योजनामा तनहुँशुर जाने ५.८ कि.मी. खड्गकाली मार्ग कालोपत्रे गर्ने कार्य भइरहेको, संघीय सरकारको विशेष अनुदान अन्तर्गत व्यास १० को देवीडाँडा खानेपानी योजना र व्यास १३ को कमेरे साँध खानेपानी योजना निर्माणाधीन अवस्थामा रहेका भन्दै व्यास ३ मा निर्माणाधीन व्यासको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने कार्य संघीय सरकारको समपुरक अनुदान सहयोग समेतमा सञ्चालनमा उल्लेख छ ।

मादीमा जलविहार
नगरपालिकाको नीति तथा कार्यक्रममा व्यास मादी नदी एकीकृत विकास परियोजना अन्तर्गत पर्यटन प्रवद्र्धन र कृषि क्षेत्रमा विशेष कार्यक्रम ल्याइने उल्लेख छ । यस अन्तर्गत मादी नदीमा ताल निर्माण गरी जल विहारको आनन्द प्रदान गर्ने र पोखराबाट स्थानान्तरण हुन लागेको प्याराग्लाइडिङलाई व्यास नगरपालिकामा भित्रयाई यस क्षेत्रको प्रवद्र्धन गर्ने नीति अवलम्बन गरिने नगर उप प्रमुख जोशीले बताइन् ।


नगरपालिकाले कोरोना भाइरसको महामारी भई निषेधाज्ञाका कारण करिब २२० योजनाहरुलाई क्रमागत योजनाका रुपमा आगामी आर्थिक वर्ष कार्तिक मसान्त भित्र सम्पन्न हुने गरी निरन्तरता दिइने उल्लेख गरको छ ।

‘मानुङमा तारे होटल’
नगरपालिकाको नीति तथा कार्यक्रममा दमौलीबाट मानहुँ यात्राका लागि केवलकार, मानहुँकोटमा तारे होटल निर्माण, शिशा पुल निर्माण, जिप लाइन लगायतका निर्माण कार्यका लागि निजी लगानीकर्ताहरुलाई आकर्षित गरी निजी क्षेत्रसँग साझेदारी गरिने उल्लेख छ ।

‘ताररहित सहर’
नगरको नीति तथा कार्यक्रमले “दमौलीलाई तार रहित शहर” निर्माण गर्ने उल्लेख गरेको छ । यसका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरी भूमिगत विद्युत लाइन विस्तार एवं तार व्यवस्थापनको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन पहल गरिने नीति तथा कार्यक्रममा छ ।

हरेक वडामा प्राविधिक
नगरपालिकाबाट सञ्चालित योजनाहरुलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न न्यूनत्तम एक वडा एक प्राविधिकको व्यवस्थालाई निरन्तरता दिइने नगरपालिकाले योजना बनाएको छ । नगरपालिकाबाट छनौट भएका रु.१० लाखभन्दा माथिका विकास आयोजनाहरुलाई प्राथमिकतामा राखी प्रथम चौमासिक भित्र नै निर्माण प्रक्रिया अगाडि बढाइने नगरपालिकाले उल्लेख गरेको छ ।

नीति तथा कार्यक्रममा छलफल पछि अब दिउँसो ३ बजे नगर सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । कार्यक्रमको तनहुँ टेलिभिजनले प्रसारण गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी