
भानुः भानु नगरपालिकामा संक्रमित भेटिएका चार सशस्त्र प्रहरी चितवनको भण्डारास्थित नम्बर ३ बाहिनी बाट सरुवा भएर आएका खुलेको छ । उनीहरु भानुको मनकामना गणमा सरुवा भएर आए पछि गणले गत भाद्र २३ गते उनीहरुको पीसीआर परीक्षण गराएको थियो ।
१० जनाको परीक्षण गराएकामा चार जनामा संक्रमण देखिएको गण श्रोतले बताएको छ । पीसीआर परीक्षणका क्रममा शुक्रबार सार्वजनिक नतिजाले उनीहरुमा संक्रमण देखाएको हो । उनीहरुसहित भानुमा १० जनामा नयाँ संक्रमण भेटिएको थियो ।
संक्रमित ३१ वर्षका दुई र ३२ वर्षका दुईजना छन् । उनीहरुलाई सरुवा भएर आउनासाथ प्रि आइसोलेसनमा राखिएको गण श्रोतले बताएको छ । ‘भण्डारामा ५० भन्दा बढीमा पहिले संक्रमण देखिएकाले उनीहरुलाई आउनासाथ बेग्लै प्रि आइसोलेसनमा राखिएको थियो,’ गण श्रोतले भन्यो,‘बेग्लै राखिएकाले उनीहरुबाट अरुमा संक्रमणको जोखिम छैन ।’
उनीहरुलाई दमौलीको आईसोलेसनमा लैजाने तयारी गरिएको भानु नगरपालिकाका स्वास्थ्य इञ्चार्ज ऐश्वर्यचन्द्र भट्टराईले बताए ।
भानुको सीमामा खटिएका प्रहरी पनि संक्रमित
भानु नगरपालिकामा जारी लकडाउनको कार्यान्वयनका लागि डुम्रे बजार र भानुको सीमानामा खटिएका जनपथ प्रहरी जवान पनि संक्रमित भेटिएका छन् ।
त्यहाँ खटिएका दुई जनाको परीक्षण गरिएकामा एकमा संक्रमण भेटिएको बताइएको छ । यस अघि पनि त्यहाँका जवानको परीक्षण गर्दा केहीमा संक्रमण भेटिएको थियो ।
बाँकी संक्रमित समुदायका
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा शुक्रबार तनहुँमा ११ नयाँ संक्रमण भेटिएको थियो । शुक्लागण्डकी नगरपालिकाकी एक महिला ज्वरो आएपछि जाँच गर्न जाने क्रममा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको परीक्षणका क्रममा संक्रमित भेटिएकी थिइन् । भानुका १० मध्ये पाँच सशस्त्र र एक जनपदबाहेक अरु संक्रमित समुदायकै छन् ।