कांग्रेस नेता भट्टराईको पहलमा बन्दीपुरका ३५५ परिवारलाई खाद्यान्न

  • ख-
  • ख+

बन्दीपुर: बन्दीपुर गाउँपालिकाका ३५५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । दैनिक छाक टार्न मुस्किल भएका बन्दीपुर क्षेत्रका ती अति विपन्न घरपरिवारलाई बिहीबार खाद्यान्न वितरण गरिएको हो ।


कांग्रेस नेता सुरेश भट्टराईको पहलमा बन्दीपुरका पाँच वडाका बासिन्दालाई वितरण गरिएको राहत करिब साढे ५ लाख रुपैयाँ बराबरको रहेको बताइएको छ । ‘लामो समयको लकडाउनले समस्या परेको सुनेपछि सहयोग जुटाएर वितरण गरेका हौं,’ उनले भने,‘ राजनीति पछि गरौंला पहिले जनता बचाऔं भनेर सहयोग अभियान थालेका हौं ।’


सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा भट्टराईसहित नेपाली कांग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारी, जिल्ला सदस्य विपिन गुरुङ, विद्यार्थी नेता रोजन बानियाँ, खुराकजङ्ग गुरुङ, नेका क्षेत्रीय प्रवक्ता राजु बानियाँ, नेका क्षेत्रीय प्रतिनिधि दिल बहादुर अछामी लगायतका नेताहरु सहभागी थिए । विपन्न परिवारलाई चामल, दाल, नुन, तेल प्रदान गरिएको नेता बानियाँले जानकारी दिए ।


उनका अनुसार प्रत्येक विपन्न परिवारलाई एक बोरा चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर तेल प्रदान गरिएको छ । ज्याला मजदुरीको माध्यमबाट जिविका चलाएका ती परिवारलाई रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेको थाहा पाएपछि अति विपन्न वर्गलाई खाद्यान्न प्रदान गरिएको उनले बताए ।


बन्दीपुर १ को बानियाटार, कौसिनीछापका १०५, बन्दीपुर २ नम्बर वडाको सिमलटार, खहरे, बरटार, कुकुर्दी, ग्वादी, आर्थुम्काका १३३, बन्दीपुर ३ नम्बरका सुखौरा, ठाडोखोलाका ४२, बन्दीपुर ५ को थुम्का, याम्पा, चेपाङ गाउँका ६० र ६ नम्बर वडाका १५ अति विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको नेका तनहुँका जिल्ला सदस्य विपिन गुरुङले जानकारी दिए । निषेधाज्ञामा खान नपाएर भोकमरीबाट जोगाउन उनीहरुलाई राहत पु¥याउने उद्देश्यले खाद्यान्न सहयोग गरिएको उनले बताए ।


त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारीले व्यक्तिगत रुपमा १ हजार थान मास्क र २५ लिटर सेनिटाइजर व्यक्तिगत रुपमा वितरण गरेका छन् । साविक नेका धरमपानी गाविसका सभापति बुद्धि गुरुङ, तरुण दल बन्दीपुरका सहसचिव अनुज तिमल्सेना, नेका बन्दीपुर २ का कावा वडा सभापति धु्रव केसी, राम बहादुर जिसी लगायतको उपस्थिति थियो ।


युवाहरुले निषेधाज्ञाको जोखिम समयमा सहयोग गर्न तयार रहेको भन्दै बन्दीपुरका संक्रमित लगायत अन्य बिरामीहरुका लागि सवारीसाधनको समेत व्यवस्था गरेको जनाएका छन् । आवश्यक परेमा सम्पर्क गरी सेवा लिन समेत उनीहरुले अनुरोध गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी