बजार एकाईको गुनासोः प्रशासनको जरिवाना व्यवहारिक भएन

  • ख-
  • ख+

दमौलीः निषेधाज्ञा उल्लंघन गरेको भन्दै सामान्य तरकारी पसलेलाई समेत आठ हजार रुपैयाँ जरिवाना लिइएको भन्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिले व्यवहारिकताका आधारमा व्यवहार गर्न प्रहरी प्रशासनसँग आग्रह गरेको छ ।


संघको एक प्रतिनिधि मण्डलले प्रहरी उपरीक्षक अरुण पौडेललाई भेटेर निषेधाज्ञा सकिएको केही मिनेटमै व्यास ४ सिमलटार निवासी तरकारी तथा फलफूल पसलेलाई जनही आठ हजारका दरले जरिवाना गरिएको भन्दै त्यो न्यायोचित नदेखिएको जिकिर गरेको हो । प्रहरीले तीन व्यापारीलाई निषेधाज्ञा उल्लंघन भएको भन्दै मंगलबार बिहान सवा ९ बजे नियन्त्रणमा लिएको थियो ।

त्यसपश्चात प्रशासनले जनही आठ हजारका दरले जरिवाना गराएको थियो । एक पसलेले जरिवाना तिर्नै नसकेपछि वीरता टोल विकास संस्थाका अध्यक्ष गएर जरिवाना तिरेका थिए ।


तर सामान्य पसलेलाई समेत अति धेरै जरिवाना तिराइएको र कतिपयले तिर्नै नसक्ने अवस्था आएको भन्दै एकाईका सभापति भुपाल आलेको नेतृत्वमा गएको टोलीले मानवीयता र अवस्था हेरेर मात्र कारवाही गर्न आग्रह गरेको हो । ‘साना पसलेलाई केही मिनेटमै पक्राउ गरेर लिइएको जरिवाना व्यवहारिक भएन भनेर भन्यौं,’ आलेले भने,‘उहाँबाट सकारात्मक प्रतिक्रिया आएको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी