
दमौलीः बुधबारबाट दमौलीलाई रेड जोन घोषणा घोषणा गरिएको छ । बजार क्षेत्रमा अधिक गतिमा सवारी चलाउने प्रवृत्ति बढेकाले यसलाई नियन्त्रणका लागि ट्राफिक प्रहरीले व्यवसायीसँगको सहकार्यमा बजारलाई सवारी साधन सञ्चालनका दृष्टिले ‘रेड जोन’मा राखेको हो ।
रेड जोनमा परे पछि अब दमौली क्षेत्रमा अधिक गतिमा सवारी साधन चलाउन पाइनेछैन । साथै बजार क्षेत्रमा हर्न बजाउन पनि पाइनेछैन । साथै, सवारी चालकले ओभरटेक पनि गर्न नपाउने ट्राफिक प्रमुख रेशम रानाभाटले बताए । ‘दुर्घटनाको जोखिम घटाउन र सहरी कोलाहल नियन्त्रणका लागि तनहुँमै पहिलोपटक यस्तो अवधारणा ल्याएका हौं,’ उनले भने,‘दमौली पछि अन्य सहरमा पनि यसलाई विस्तार गर्ने योजना छ ।’

तनहुँ उद्योग वाणिज्य संघ र दमौली बजार एकाई समितिको सहकार्यमा ट्राफिकले सवारी सञ्चालनका नियमहरु ब्जारको प्रवेशबिन्दुमा राखिएको छ । यसले नवप्रवेशीलाई गति घटाउन, ओभरटेक रोक्न र हर्न नबजाउन जानकारी दिनेछ ।
‘बजारको यातायात सुरक्षा र कोलाहल कम गर्न ट्राफिकले थालेको अभियानमा सघाएका हौं,’ एकाई सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले भने ।
यस अघि स्याङजा वालिङमा पनि आफू प्रमुख रहँदा बनाएको जोनले अझै काम गरेको भन्दै रानाभाटले यो नयाँ कदमबाट दमौलीमा पनि काम गर्ने विश्वास व्यक्त गरे । ‘अन्यत्र सफल भएको उदाहरणले यहाँ पनि काम गर्छ होला,’ उनले भने ।
होर्डिङ बोर्ड हस्तान्तरणका लागि तनहुँ उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा संघका जिल्ला अध्यक्ष मानकाजी श्रेष्ठले बजारको सुरक्षा अब बढ्ने अपेक्षा गरे । उनले कोभिड १९ का कारण व्यवसाय धराशायी भएको भन्दै सुरक्षा मापदण्ड पुरा गरेर बजार नियमित चल्न दिइनुपर्ने बताए ।
प्रहरी उपरीक्षक अरुण पौडेलले शान्ति सुरक्षा र बजारको सुरक्षामा नयाँ व्यवस्थाले सघाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले यस अघि उपलब्ध गराइएको सीसीटीभी र आगो नियन्त्रण गर्ने उपकरणको सहि उपयोग गरेर सुरक्षा व्यवस्थापन गर्न सुझाव दिए । सुरक्षा मापदण्डसहित घोषणा कार्यक्रम गरिएको एकाईका सचिव दधिराज घिमिरेले बताए ।
कार्यक्रममा व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागीता थियो ।