दुम्सीको पीसीआर ल्याबका लागि सिर्जनशीलको ५० हजार

  • ख-
  • ख+

दमौलीः सिर्जनशील दिदी बहिनी समुह व्यास ४ ले व्यास १० दुम्सीमा सञ्चालन हुन लागेको पिसिआर परिक्षण ल्याबका लागि आर्थिक सहयोग गरेको छ ।

समुहले आइतवार व्यास नगरपालिकालाई ५० हजार ५ रुपैयाँ सहयोग गरेको हो । समुहकी उपाध्यक्ष कल्पना शर्मा न्यौपानेले सो रकम व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरिन् । रकम हस्तान्तरण गर्दै उनले कोरोनाको लक्षण देखिएपछि गरिएको पीसीआर परिक्षणको रिपोर्ट ढिलो आउँदा समुदायमा संक्रमण फैलन सक्ने जोखिम बढेकाले यथाशिघ्र पीसीआर ल्याब सञ्चालनका लागि दबाब स्वरुप रकम सहयोग गरिएको बताइन् ।


रकम ग्रहण गर्दै नगरप्रमुख न्यौपानेले ल्याब सञ्चालनका लागि नगद सहयोग गर्नेमा दिदी बहिनी समुह पहिलो भएको र समुहले अन्तरदृष्टि पुर्याएर नगद सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

समुहका निवर्तमान अध्यक्ष नारायणी अधिकारी, पूर्व अध्यक्ष गौकुमारी न्यौपाने , सचिव सीता पण्डित , कोषाध्यक्ष मञ्जु न्यौपाने लगायतको उपस्थिति रहेको रकम हस्तान्तरण कार्यक्रमा नगर प्रमुख न्यौपानेले तनहुँका स्थानीय तहको लागत सहभागितामा व्यास १० दुम्सीमा सञ्चालन गर्न लागेको पीसीआर परिक्षण ल्याबबाट तनहुँ लागयत छिमेकी जिल्लाका जनता समेत लाभान्वित हुने बताए ।


नगर प्रमुख न्यौपानेले सञ्चालन गर्न लागिएको ल्यावबाट रोटरी क्लवले प्रदान गरेको पिसिआर मेसिन सगै कम्तिमा पनि एक पटकमा एक सय जनाको पीसीआर परिक्षण गर्न सकिने बताए ।
एक हप्ता भित्र टेन्डर आव्हान गर्ने र करिब एक महिना भित्र ल्याब तयार गरी स्वीकृति परिपक्वताका साथ परिक्षणको काम थालिने न्यौपानेको विश्वास थियो ।

उनले ल्याब सञ्चालनका लागि देश विदेशमा रहेका व्यक्ति एवं संघ सस्थाहरुले समेत सहयोग गर्न इच्छा जाहेर गरेको वताए । देवघाट गाउँपालिका बाहेक तनहुँका तनहुँका नौवटा पालिकाको सहकार्यमा करिव एक करोडको लगानीमा व्यास १० दुम्सीस्थित सहरी स्वास्थ्य केन्द्रमा पीसीआर ल्याब सञ्चालन गर्न लागिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी