
दमौलीः व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले चार वर्षमा भनेभन्दा धेरै काम गरेको दावी गरेका छन् । ‘चुनावमा मतदातामाझ जाँदा गरेका अधिकांश काम पुरा अथवा पुरा हुने बाटोमा अघि बढेका छन्,’ तनहुँ टेलिभिजनको नियमित संवाद कार्यक्रममा अन्र्तवार्ता दिंदै उनले भने,‘हामीले बाचा नगरेका कतिपय ठूला काम पनि अघि बढेका छन् ।’
उनले व्यासको एक सय फिट अग्लो मूर्तिको टेण्डर, मानुङको पर्यटकीय विकास, मादी नदीको जलाशयमा आधारित पर्यटनको गुरुयोजना निर्माण, वडा वडामा पुगेको कालोपत्रे, खड्गकाली मार्ग आदिलाई प्रमुख उपलब्धिका रुपमा भनेका छन् ।
यस क्षेत्रकै ठूलो नारिश्वर ताल निर्माण, श्याम्घा उपत्यका क्षेत्रमा बन्न लागेको मादी किनारको सडक र सहरी विकासमा अघि बढ्न लागेको प्रक्रिया आदि चुनावमा नबोलिएका तर काम अघि बढेका विषय भएको उनले बताए ।
पत्रकार पवन पौडेलसँगको अन्र्तवार्ताका क्रममा नगर प्रमुख न्यौपानेले चार वर्षमा भएका कामबाट सन्तुष्ट भएको बताए ।
‘समय थोरै भएकाले कोभिड र बाढी पहिरोले केही अवरोध ग¥यो,’ उनले भने,‘तर पनि अहिलेसम्मका सबै बोर्ड बैठकमा कुनै पनि काममा सर्वसम्मत अघि बढ्नु र पछि नतिजा देखिने काम अघि बढ्नुले हामीलाई सन्तोष दिएको छ ।’

न्यौपानेले कोभिड संक्रमण नियन्त्रणका लागि अस्पताल र चिकित्सकको व्यवस्थासँगै पीसीआर परीक्षणमा दिइएको तीव्रता र नगरपालिकाकै सक्रियतामा खुल्न लागेको प्रयोगशाला आदिले पनि नगरपालिकाले अन्यत्र भन्दा उदाहरणीय काम गरेको देखाउने बताए ।
‘तपाइं अरु तह पनि हेर्नुस्,’ उनले भने,‘अरु भन्दा केही बढी काम यहाँ भएको छ ।’
अन्र्तवार्ताका क्रममा न्यौपानेले केही दिन अघि भाईरल शव अन्त्येष्टिका क्रममा दाउरा बोक्नुको कारण, फेसबुक नचलाउनुको कारण तथा पार्टी र नगरपालिकाको चुनावमा आफ्नो भावी योजनाबारे खुलेर कुरा गरेका छन् ।