
दमौली : व्यास नगरपालिकाले कोभिड-१९ को संक्रमणका कारण ज्यान जानेका परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार बसेको नगर कार्यपालिका बैठकले यसरी मृत्यु हुने विपन्न परिवारलाई सम्बन्धित वडाको सिफारीसमा नि: शुल्क सव-वाहन र काजकृया खर्च वापत रकम सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
बैठकले कोभिड-१९ बाट संक्रमित भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई पाँच हजार रुपैयाँ उपचार एवं राहत सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
बैठकले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा खटिने कर्मचारीहरुलाई कार्य प्रकृति र त्यसको जोखिमलाई मध्यनजर गरि शुरु तलब स्केलमा २५% देखी १००% सम्म जोखिम भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
व्यास नगरपालिकाको संयोजनमा व्यास-१० दुम्सी बजारमा भवनमा PCR परिक्षण प्रयोगशाला निर्माण गर्न भएको निर्णय अनुमोदन गरि खरिद ऐन अनुसार खरीद प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
नगरपालिकाले यस कार्यमा गण्डकी प्रदेश सरकार, संघीय सरकार र सबै तहका जनप्रतिनिधि, सामाजीक संघ संस्थाहरुका साथै सरकारी एवं गैह्र सरकारी संघ संस्थाहरुलाई सहयोगका लागि अनुरोध पनि गरेको नगर प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा छ ।

नगर प्रमुख न्यौपानेको अध्यक्षतामा बसेको बैठकले नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग सहकार्यका लागि आह्वान गर्ने निर्णय पनि गरेको छ ।
परीक्षा नतिजा जेठ मसान्तभित्र
कार्यपालिका बैठकले व्यास नगरपालिका अन्तरगतका विद्यालयको वार्षिक परिक्षाहरुको अन्तिम नतिजा २०७८ जेठ मसान्त भित्र प्रकाशन गर्ने गरि आन्तरीक परिक्षा एवं निरन्तर सिकाईको माध्यमका आधारमा मुल्याङकन हुने गरी विद्यालयहरुलाई परिचालित गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय पनि गरेको छ ।