व्यासको दुम्सीमा पीसीआर परीक्षण ल्याब स्थापना गरिने, प्रदेश सरकारसँग अनुमति माग

  • ख-
  • ख+


दमौली: व्यास नगरपालिका वडा नं १०दुम्सीमा कोभिडको पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ ।


व्यास नगरपालिकाको आधारभुत स्वास्थ्य कार्यालयको भवनमा यस्तो प्रयोगशाला स्थापना गर्न प्रदेश सरकारसँग अनुमति माग गर्ने व्यास नगरपालिकामा बसेको विभिन्न तहका प्रमुखको बैठकले निर्णय गरेको छ ।


व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले यस प्रक्रियामा आवश्यक व्यवस्थापनको नेतृत्व लिन व्यास नगरपालिकालाई जिम्मा दिने निर्णय पनि गरेको छ ।
बैठकले प्रयोगशालामा रोटरी क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२९२ बाट प्राप्त मेसीन समेतको प्रयोग गर्ने निर्णय गरेको छ।

कोभिड परिक्षणको प्रतिवेदन आउन कम्तीमा एक हप्ता लाग्ने भएकाले जोखिम बढ्न थालेको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले बैठकमा बताए ।


बैठकले तनहुँ जिल्ला अन्तरगतका सबै पालिकाहरुको सहभागिता समेतमा स्थापना गरिने PCR परिक्षण प्रयोगशालामा सहयोग गर्न इच्छुक निजी क्षेत्र, वैदेशिक रोजगारमा रहेका व्यक्ति सँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था समेतसंग सहभागिताका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अस्पताल सेवामा र अक्सीजनको अभाव महसुस भएको अवस्थामा नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई दमौली अस्पताल र जि.पि कोइराला स्वासप्रश्वास अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रकृया अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्दै त्यस प्रकृयामा स्थानीय पालिकाहरुले समेत सहयोग प्रदान गर्ने सहमती पनि गरेको छ ।
वैठकमा भानु न.पा प्रमुख उदयराज गौली, शुक्लागण्की न.पा प्रमुख किसान गुरुङ, ऋषिङ गा.पा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, आँबुखैरेनी गा.पा अध्यक्ष गिरबहादुर थापा, व्यास नगर उप-प्रमुख श्री मीरा जोशी, म्याग्दे गा.पा उपाध्यक्ष श्री बालकृष्ण घिमिरे तथा भिमाद न.पा प्रतिनिधि ऋषिभक्त वाग्लेसँगै व्यासका जन प्रतिनिधि र विभिन्न स्वास्थ्य तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्