
दमौलीः कोभिड जोखिम बढिरहेको भन्दै तनहुँ प्रशासनले जारी गरेको निषेधाज्ञा सकिन दुई दिन बाँकी रहँदा अब के होला भन्ने जिज्ञासा नागरिकमा देखिएको छ ।
कोभिड संक्रमणका घटना पछिल्ला तीन दिनमा कम देखिए पनि मृत्यु हुने र मानिसको ज्यान जाने घटना बढिरहेकाले शुक्रबार बस्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बैठकमा निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल हुने भएको छ ।
अझै पनि जोखिम कम भै नसकेकाले शुक्रबार बस्ने बैठकले निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने बुझिएको छ ।
एक सुरक्षा निकायका प्रमुखले निषेधाज्ञा लम्ब्याउन सिफारिस गरिने जानकारी दिए । ‘तीन दिन यता राम्रो सुधार भएको छ,’ उनले भने,‘अझै केही समय यस्तै अवस्था कायम राखे मात्र संक्रमण फैलन रोक्न सकिने भएकाले । थप्न सुझाव दिंदैछौं ।’
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पनि निषेधाज्ञा लम्बने निश्चित भएको बताए । उनका अनुसार कम्तिमा एक देखि बढीमा दुई सातासम्म निषेधाज्ञा जारी हुने सम्भावना छ ।
‘अहिलेको अवस्था हेर्दा थप गर्नुपर्छ नै भन्ने हाम्रो विचार हो,’ उनले भने । यस विषयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाट प्राप्त सुझावका आधारमा नै निर्णय गरिने प्रजिअ आचार्यले जानकारी दिए । ।