
पोखरा: प्रदेश प्रमुखले दिएको तीन दिनको समयसीमा सकिन केही घण्टा मात्र बाँकी रहँदा पोखरामा रहेको गण्डकी प्रदेशको राजधानीका केही भागमा दौडधुप बढिरहेको छ ।प्रदेश सरकारको नयाँ वा पुरानै गणित कुन कायम रहने भन्ने विषय राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा एक जनामा केन्द्रीत बने पछि अहिले सत्ता र विपक्षी दुवै एक भोट निश्चित गर्ने दौडमा लागेका छन् ।
गुरुङलाई अवसर ?
सदनमा विश्वासको मत गुमाउनु अघि नै राजीनामा दिएका मुख्यमंत्री पृथ्वीसुब्बा गुरुङलाई थापाले बहुमत जुटाउने विपक्षी प्रयासमा साथ नदिएमा सत्ता जोगाउने अवसर मिल्नेछ । सँगै, नयाँ सरकार बनाउन अरु विपक्षीलाई एकजुट पारेको कांग्रेसले जनमोर्चाको सबै मत नपाउने अवस्थामा दावी नपुग्ने भए पछि कठिन कसरत गर्नुपर्ने देखिएको छ ।हालै मन्त्री बनेका दीपक मनाङे सहित २७ पार्टीका सांसदको साथ पाएको एमालेले कृष्ण थापाको मत आफूले पाएमा सत्ता जोगाउन सक्छ ।
मानलान् त थापा ?
यस्तो बेला कांग्रेसको आश केन्द्रमा विपक्षी मोर्चामा देखिएको जनमोर्चाको सबै मत तान्ने हो । सचेतक पियारी थापाले व्हीप लगाए पनि कुनै हालतमा विपक्षी गठबन्धनमा नजाने भनेर मीडिया बयान दिए पनि कडा अनुशासन भएको मानिएको जनमोर्चा केन्द्रीय नेतृत्वले महासचिव नै खटाएर गरेको प्रयास अबका केही घण्टामा सफल नभएमा ठूलो दलको हैसियतमा पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिने छन् ।
३० दिनभित्र विश्वासको मत लिनुपर्ने उनले कम्तीमा नयाँ बजेट जारी गर्ने अवसर पाउनेछन् ।