व्यास कार्यपालिका निर्णयः नगरस्तरीय अस्पतालका लागि ३० रोपनी जग्गा माग

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले नगरस्तरीय अस्पतालका लागि भन्दै वडा कार्यालयसँग ३० रोपनी जग्गा माग गरेको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरस्तरीय अस्पताललाई समेटेको नगरपालिकाले सोमबार सम्पन्न कार्यपालिका बैठकमार्फत यसका लागि आवश्यक जग्गा सबै वडासँग माग गर्ने निर्णय गरेको हो । यस निर्णयले हाल जिल्लास्तरीय अस्पताल भैरहेकै अवस्थामा नगरपालिकाले आफ्नै बेग्लै अस्पताल चलाउने तयारी अघि बढाएको देखिन्छ ।

भतेरीको फोहोर माथिल्लो भतेरीमा

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले व्यास ३ भतेरीको साविकको फोहोरमैला व्यवस्थापन क्षेत्र मादी नदीले कटान गरेकाले मंसीरसम्मका लागि व्यास १० र ४को बीचमा पर्ने माथिल्लो भतेरीमा विसर्जन गर्न र आवश्यक अध्ययनका लागि व्यास ४ का वडाध्यक्ष विश्वराज न्यौपानेलाई संयोजक तोकेको छ ।

मल आपूर्ति सहजताको जिम्मा उप प्रमुखलाई

बैठकले किसानलाई मल सहज बनाउन उप प्रमुख मीरा जोशीको संयोजकत्वमा बन्ने समितिलाई क्रियाशिल बनाई मल उपलब्ध गराउन सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

आईसोलेसनका लागि सहयोग

बैठकले जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रको आइसोलेसनका लागि नौ लाख, कृषि विकास बैंक लिमिटेडको आईसोलेसनका लागि साढे चार लाख सहयोग दिने निर्णय गरेको छ ।
दमौली अस्पतालको आइसोलेसनका लागि दिइएको साढे चार लाख र आइसोलेसनका लागि कृषि विकास बैंकको मर्मतका लागि खर्च भएको तीन लाख ६५ हजार रुपैयाँ जिल्ला संकट व्यवस्थापन समितिबाट माग गर्ने निर्णय पनि गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी