बन्दीपुरमा लकडाउन हट्यो, २ बजेसम्म बजार खोल्ने निर्णय

  • ख-
  • ख+

बन्दीपुर ः समुदाय संक्रमणको जोखिम केही कम देखिएको भन्दै बन्दीपुर गाउँपालिकाले लकडाउन हटाएको छ । यस अघि २४ गते रातीसम्मका लागि लकडाउन जारी भए पनि गत १८ गते समुदायका व्यक्तिहरूमा गरिएको ५९ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएसँगै मंगलबारबाट बजार खुलाउने निर्णय गाउँपालिकाले गरेको हो ।


गाउँपालिकाका प्रवक्ता ध्रुवराज लामिछानेद्वारा जारी विज्ञप्तिमा मंगलबार भदौ २३ गतेदेखि देखि लागु हुनेगरी दिउँसो २ः०० बजेसम्म नेपाल सरकारले निषेधित गरिएको बाहेक अन्य व्यापार व्यवसायहरु भौतिक दुरी, सुरक्षा र सावधानी अपनाउने र स्वास्थ्यका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी खुला गर्न दिने निर्णय गरिएको उल्लेख छ ।


विज्ञप्तिमा हालसम्म बन्दाबन्दीमा पूर्णरूपमा कोरोना भाइरस सँग लड्नको लागि सहयोग गरेको भन्दै उद्योगी, व्यापारी, प्रहरी प्रशासन, संचारमाध्यम र स्थानीय बासीहरुलाई धन्यवादसमेत ज्ञापन गरिएको छ ।


छिमेकको भानु नगरपालिकामा बढ्दो संक्रमण र डुम्रेका विभिन्न बैंकका कर्मचारीमा समेत संक्रमण देखिएपछि गाउँपालिकाले व्यापारीको आग्रहमा लकडाउन घोषणा गरेको थियो । गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जोखिम घट्दै गएमा जनजीवन थप सहज बनाउने नीति रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी