यातायात खुल्यो, बस चलेनन्

  • ख-
  • ख+

व्यासमा मात्र खुलेकाले अन्त चलाउन कठिनाई
दमौली:
व्यास नगरपालिकाले आईतबारबाट सार्वजनिक यातायात खुलाए पनि यातायातका साधन भने नगण्य मात्रामा चलेका छन् । व्यास नगर क्षेत्रमा भिडभाड नगरिकन सवारी चलाउनका लागि नगरपालिकाले अनुमति दिएको थियो ।


व्यासले खुलाए पनि छिमेकका तहमा यातायात चलाउने अनुमति नभएकाले तनहुँभित्र यातायात चलाउने केही कम्पनीले मात्र सवारी चलाएका छन् । उनीहरुले पनि साना सवारी साधन मात्र चलाएका छन् ।

व्यासभूमि यातायात कम्पनी प्रालिका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले व्यासबाहेक अन्यत्र सञ्चालन गर्ने अवस्था नभएकाले नगर क्षेत्रमा साना सवारी मात्र चलाइएको बताए । ‘नगर क्षेत्रमा म्याजिक र चार पांग्रे माइक्रो बस मात्र चल्यो,’ उनले भने । केशवटार र कलेस्ती क्षेत्रबाट भने यात्रु लिएर एकाध बस दमौली आएको उनले बताए ।


स्थानीय श्रृंग यातायात कम्पनीले पनि साना मिनी माइक्रो र एकाध बस मात्र चलेको बताएको छ । कम्पनीका दमौली शाखा प्रबन्धक चित्र गुरुङले साँगे क्षेत्र चल्ने साना सवारी मात्र चलाइएको बताए । ‘म्याग्दे र शुक्लागण्डकीमा चलाउने अनुमति छैन,’ उनले भने,‘साँगे जाने साना केही साधन मात्र चले ।’


पृथ्वी राजमार्ग यातायात कम्पनीका कृष्ण केसीले आफूहरुका सवारी अधिकांश पोखरादेखि मुग्लिनसम्म चल्ने भएकाले जिल्लाका अरु तहमा सञ्चालन गर्न नपाएकाले बस नचलाइएको बताए । ‘व्यासमा मात्र बस चलाउने यात्रु हुँदैनन्,’ उनले भने,‘त्यसैले यातायातका साधन चलेनन् ।’


ठूला सार्वजनिक यातायात नचले पनि म्याजिक भने बढी चलेका छन् । दमौली बजारमा किनमेलका लागि म्याजिक लिएर आवतजावत गर्नेको संख्या आईतबार बढी देखिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी