दमौली खुला मैदान विवादः व्यास नगरपालिका भन्छ,‘पार्कका विषयमा छलफल गर्न तयार छौं’

  • ख-
  • ख+

दमौलीः पछिल्लो समय सामाजिक सञ्जालमा आलोचना हुन थाले पछि व्यास नगरपालिकाले दमौली अनशन चौतारीमा निर्माण हुन लागेको पार्कबारे धारणा सार्वजनिक गरेको छ । खुला मैदान मासिन लागेको भन्दै सामाजिक सञ्जालमा विरोध भैरहेका बेला हस्ताक्षर अभियान समेत शुरु हुनु अघि नगरपालिकाले यस विषयमा छलफल गर्न तयार रहेको उल्लेख गरेको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितद्वारा जारी विज्ञप्तिमा यस अघि नै जिल्ला समन्वय समितिको स्वामित्व रहेको जग्गामा पार्क बनाउने सर्वदलीय सहमति भैसकेको भन्दै सोही अनुरुप निर्माण कार्य अघि बढ्न लागेको जनाइएको छ ।

‘तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी बद्री तिवारीको अध्यक्षतामा भएको सर्वदलीय बैठकमा बीपी वनवाटिकालाई खेल मैदानको रुपमा र अनसन चौतारी नजिकको चौरमा पार्क निर्माण गर्ने सहमति भई निर्णय भएको थियो,’ विज्ञप्तिमा छ । नगरपालिकाको विज्ञप्तिमा स्थानीय तहको पुर्नसंरचना पछि उक्त चौरमा करिव आधा खुल्ला चौर राख्ने र बाकीँमा ज्येष्ठ नागरिक, बालबालिका, अस्पताल नजिक हुँदा बिरामीहरुका लागि मनोरञ्जनका लागि खुल्ला पार्क निर्माण गर्न निर्माण प्रकृया अघि बढाइएको उल्लेख गरिएको छ ।

‘राजनैतिक दल, विभिन्न संघ संस्थाहरुका कार्यक्रम, पर्वहरु एवं व्यवसायिक मेला हुने उक्त चौरमा लाखौ खर्च गरेर अस्थाई मञ्च निर्माण गरिने हुदाँ, कृषि कार्यालय तर्फ स्थायी, अपाङ्गमैत्री मञ्च निर्माण गरिने र पार्कको संरक्षणका लागि बिच भागमा फुलको स्थायी क्यारी निर्माण गरी अन्य भागहरुमा मनोरञ्जनात्मक पार्क जिल्ला समन्वय समितिसँग समन्वय गरी निर्माण गरिन लागेको हुदाँ सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ,’ विज्ञप्तिमा छ । यसको विरोध गर्दै स्कूल अफ डेमोक्रेसीले हस्ताक्षर अभियान सञ्चालन गर्न लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी