आँखाभरि आँशु लिंदै उज्यालो दिन खोज्दै दिनेश

  • ख-
  • ख+

भन्छन्,‘पक्कै कोही आएर मलाई बचाउँछ’
विकास खनाल

दमौली: अस्पतालको बेडमा भेट्दा उनको आँखामा आँसु थियो, कुरा बुझ्दै र सोध्दै जाँदा मधुरो स्वरमा आफ्नो म्ुटुभरिको पीडा उनले फुकाए । एकातिर दुखाइको पीडा अनि अर्कोतिर एक्लै हुँदाको छट्पटी । साँच्चै उनको साथमा कोही थिएन । र, छैन ।

घटना गत भदौ ९ गते राति ८ बजेको हो । एक वर्षयता धादिङ बुढाथुम खास घर भएका ३० वर्षिय दिनेश थापा दमौलीमा काम गर्दै थिए । आफू बस्ने ठाउँ जाँदै गर्दा त्यस दिन बेलुकी रेलिङ भाँचिएको बुल्दी खोला पुलबाट उनी खस्न पुगे ।


रातको समय थियो । वरिपरि गुहार दिने कोही थिएनन् । खोलाबाट खस्दा थलिएकाले उनी उठ्न पनि सकेनन् । खोलामा डुबेकै अवस्थामा बेसाहरा उनी रातभर त्यहीं सुते । भोलीपल्ट विहान मात्र केही स्थानीयले उनलाइै देखेर प्रहरीकहाँ खबर गरे ।

त्यसपछि प्रहरीले उनलाई उद्धार गरेर दमौली अस्पतालमा ल्यायो । डाक्टरले हेर्दा गोडाको घुँडा माथिको भागबाट भाँचिएको रहेछ । यहाँ प्लास्टर सहितको उपचार नहुने भए पछि उनलाइ भरतपुर अस्पतालमा जान भनियो । तर परिवारका कोही आइदिएनन् ।


दमौलीको एक टायर पसलमा काम गर्ने उनको काम पनि घटना हुनु केही दिन अघि मात्र छुटेको थियो । पहिले काम गर्ने साहुले पनि उनलाई सघाउन आएनन् । घटना भएको यतिका समय भैसक्दा पनि घरबाट कोही आउने अवस्था नभएपछि उनी भाँचिएकै गोडा लिएर पीडा सहन बाध्य छन् ।

अस्पतालको बेडमै भेटिएका उनले पीडाको भावमा भने,‘घरमा बुढो बुवा हुनुहुन्छ । श्रीमतीले छोडेर गैसकी । आफन्त पनि नआउने र अस्पतालसँग पनि यहीं उपचारको विकल्प नभए पछि उनी कहिलेसम्म यही हालतमा बस्नुपर्ने हो थाहा छैन । ‘घरबाट बुढो बाबु आउनसक्ने अवस्था छैन,’ दिनेश भन्छन्,‘म यस्तो हालतको कसरी जानु ।’

उनलाई सुभेच्छुक कसैले उपचारका लागि पहल गरिदिने हो भने निको भएर पहिलेझैं काम गरेर वृद्ध बाबुलाई पाल्ने आत्मविश्वास छ । तर न हातमा पैसा न कसैको सहयोग पाए पछि लाचार भएर बस्न बाध्य छन्, दिनेश ।

अहिले सामाजिक सञ्जालमा अप्ठेरोमा परेकालाई सघाउने मानविय अभियान चलिरहेको छ । तर यसका लागि पनि आफन्त र साथीभाईकै पहल चाहिने रहेछ ।

आफ्नो कोही नभएका उनलाई सघाउन को आउने हुन्, वा नआउने पो हुन् कि ? तर दिनेशलाई आशा छ, अवश्य कोही आउँछ अनि उनलाई बचाउँछ । उनी त्यही उज्यालो दिन कुरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी