
दमौली: आदिकवि भानुभक्त क्याम्पसको सहिद चन्द्र नेपाली छात्रावास परिसरमा सहिद चन्द्र नेपालीको स्मारक निर्माण थालिएको छ । २००७ सालको बन्दीपुर कब्जा आन्दोलनका क्रममा सहादत पाएका नेपालीको सम्झनामा निर्माण गरिएको छात्रावाससँगै नेपालीको स्मारक निर्माण थालिएको हो ।
स्मारकको गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले शिलान्यास गरे । स्मारकका लागि प्रदेश सरकारबाट पाँच लाख रुपैयाँ सहयोग प्रदान गरिएको बताइएको छ ।
छात्रावास व्यावस्थापन समितिका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख तथा क्याम्पस संचालक समितिका.पूर्व अध्यक्ष शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, व्यास नगरका प्रथम नगर प्रमुख एवम् क्याम्पस संचालक समितिका.पुर्व अध्यक्ष ताराप्रसाद श्रेष्ठले बोलेका थिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाले स्मारकको निर्माणले सहिदको सम्झना चिरकालका लागि रहने बताए । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले छात्रावाससँगै निर्मित स्मारकले ओज बढेको प्रतिक्रिया दिए ।
सोही अवसरमा हरियाली पार्क समेतको शिलान्यास भएको क्याम्पस उप प्रमुख कल्पना लम्सालले जानकारी दिइन् ।