प्रदेशस्तरीय भलिबलमा तनहुँको उत्कृष्ट प्रदर्शनः सफलतापछाडिको कथा

  • ख-
  • ख+

पवन पौडेल

दमौलीः फागुन ४ गतेबाट मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुँदै थियो । भलिबलमा उसै पनि धेरै खेलाडि भएको तनहुँसामु बलियो टिम पठाउनुपर्ने चुनौती पनि थियो । तर खेलाडि पठाउन पत्र पाएका भलिबल संघका पदाधिकारीले उनीहरुलाई पठाउने खर्च भने पाएनन् ।
महिला र पुरुष गरी दुवैतर्फको स्पर्धामा सहभागीता जनाउनु त थियो नै उपाधि पनि आफ्नो हातमा ल्याउने चुनौती संघसामु थियो । तर हातमा थियो, शुन्य रुपैयाँ ।


खेल्नुअघि खर्च जुटाउने दौडधुप

करिब पाँच दिनको बसाईमा रहने दुई टिमका झण्डै 28 जनाको टिमको खर्च सरकारी निकायबाट नआए पछि आफ्नै बलबुतामा जुटाउनु पर्ने दायित्व भलिबल संघ तनहुँले छाडेन । खेलमा टिम पठाउनु केही दिन अघिसम्म पनि सहयोगको पत्र लिंदै संघ संस्था अनि सुभेच्छुक चहार्दै हिंडेका पदाधिकारीले हिम्मत हारेनन् । अनि शुरु भयो, पोखरा यात्रा ।


पुरुषतर्फको फाईनलमा बलियो टिम स्याङजामाथि जित पाउन सहज थिएन । तर उच्च मनोबल र व्यवस्थापनका कारण खेलाडिले कठिन नै सहि जित हात पारे ।
बेस्ट अफ फाईभमा सञ्चालित प्रतियोगितामा ३–२ को सेटले स्याङजाको टिममाथि तनहुँले जित प्राप्त गरेको थियो ।


कठिन परिश्रम अनि सफलताको स्वाद

उता, अर्को बलियो टिम कास्कीमाथि सेमीफाईनलमा जित दर्ता गरेर महिला टिमले पनि आफ्नो क्षमता प्रदर्शन गर्यो । यसले अन्तिम समयमा भलिबल संघ तनहुँले गरेको दौडधुपलाई सफल पारिदियो । खेलाडिलाई प्रतियोगितामा सहभागी बनाउन अध्यक्ष पदम सुनार र सचिव अशोक गिरीसहितका पदाधिकारीले कम्ता पापड भने बेल्नु परेको थिएन । तर काढ्न हुने कठिनाई भए पनि निस्केको महको स्वाद स्वादिलो हुन्छ, सायद टिमले त्यही चाख्न पायो ।

https://fb.watch/3O7WctUo-_/

सुनार भन्छन्,‘हाम्रो अभियानमा देश मात्र नभएर विदेशबाट पनि सघाउने निस्कनुभयो । यो जितमा सबैको भागेदारी छ । हामीले हाम्रो क्षमता प्रदर्शन गरेका छौं ।’
सचिव गिरी पनि शुरुवाती रुपमा खर्च जुटाउन कठिन भए पनि दुवै खेलमा प्राप्त जितले थप राम्रो गर्न हौसला मिलेको बताए ।

‘राष्ट्रियस्तरसम्म पहिचान बनाएका खेलाडिलाई आर्थिक अभावमा खेल्न नपठाउने भन्ने सम्भव थिएन,’ उनले भने,‘उनीहरुको प्रतिभा मर्न नदिन गरेको प्रयास सफल हुँदा हामी मात्र होइन सबै खुशी छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी