
दमौलीः समाजका गतिविधि प्रचारप्रसार गरी उल्लेख्य सहयोग पु¥याएको भन्दै तनहुँ समाज हङकङले तीन पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नेपाल पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्य, उपाध्यक्ष सोनि शर्मा र क्रियाशील पत्रकार सुनिता आचार्य छन् ।
शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा पत्रकार महासंघको हलमा आयोजित कार्यक्रममा
व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, समाजका निवर्तमान अध्यक्ष जंगबहादुर थापा र पूर्व अध्यक्ष भिमराज गुरुङले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका हुन् ।

विदेशमा रहेर पनि आफ्नो मातृभूमिप्रति स्नेह र सदभाव दर्शाउदै सामाजिक बिकासको लागि योगदान गरेकोप्रति समाजलाई न्यौपानेले धन्यवाद व्यक्त गरे ।
पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले संस्थाको तर्फबाट प्राप्त भएको सम्मानले थप जिम्मेवारीबोध गराएको बताए ।
संस्थाले एक दशकयता शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको क्षेत्रमा सहयोग गर्दै आएकोे समाजका निवर्तमान अध्यक्ष जंगबहादुर थापाले बताए ।
समाजले हरेक वर्ष जिल्लाका १२ विद्यालयका बहुअपाङ्गता भएका बालबालिकालाई उनीहरुकै आवश्यकता अनुसार सहयोग सामाग्री हस्तान्तरणसहितका विभिन्न कार्यक्रमबारे जानकारी दिंदै पूर्व अध्यक्ष भीमराज गुरुङले प्रत्येक वर्ष दुई जना सञ्चारकर्मीलाई सम्मान गर्ने योजना सुनाए ।
कार्यक्रममा समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले कार्यक्रमबारे जानकारी दिएका थिए ।