
विकास खनाल
म्याग्दे :जामुनेमा स्वास्थ्य चौकी एवं कोभिड अस्पताल प्रयोगशाला सञ्चालनमा आएको छ । प्रयोगशालाको उद्घाटन गर्दै म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले एमबिबिएस डाक्टर सहितको सेवा स्वास्थ्य चौकीमा सुरु भएको बताइन् । ‘अब गाउँमै सुविधायुक्त सेवा शुरु भएको छ,’ उनले भनिन्,‘प्रेसर, सुगरजस्तो रोग जाँच्न टाढा जानु पर्दैन ।’
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले भने,‘यो हिजोको जस्तो स्वास्थ्य चौकी होइन । गाउँपालिकाले अस्पताल सरहको सेवा स्वास्थ्य चौकिबाटै दिएको छ ।’
स्वास्थ्य चौकीलाइ थप सेवा सुविधा थप्दै जाने लक्ष्य गाउँपालिकाले राखेको घिमिरेले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले स्वास्थ्य चौकीबाट दिइने सेवाका बारेमा जानकारी गराएका थिए । डाक्टर स्तरको बिरामी जाँच सेवा , दैनिक सेवा , प्रयोगशाला , सुरक्षित मातृ सेवा आदि स्वास्थ्य चौकीबाटै उपलब्ध गराइने घिमिरेले बताए ।
म्याग्दे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष चन्द्रबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीका डाक्टर प्रदिप थापा तथा स्वास्थ्य चौकी इन्चार्ज सक्षम घिमिरेले पनि बोलेका थिए ।
चौकीमा एक डाक्टर, दुई स्टाफ नर्स , एक हेल्थ असिस्टेन्ट , दुई जना अहेब , एक ल्याव असिस्टेन्ट , तीन अनमीसहितका जनशक्ति कार्यरत छन् ।