
दमौलीः नेकपाको प्रचण्ड–नेपाल खेमाले राजधानीमा आयोजना गरेको विरोध सभामा दुई हजार बढी नेता कार्यकर्ता सहभागी भएको दाबी गरिएको छ । बुधबारको सभाका लागि मंगलबार राती नै अधिकांश नेता कार्यकर्ता राजधानी पुगेका थिए ।
सभामा व्यास नगरपालिकाबाट मात्र ११ बस र त्योभन्दा बढी निजी सवारी साधनमा कार्यकर्ता काठमाडौं पुगेको खेमानिकट नेता नेकपा व्यास नगर कमिटि अध्यक्ष श्रीराम कार्कीले बताए ।
सभामा व्यास पछि सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिकाबाट आठवटा बसमा कार्यकर्ता राजधानी पुगेको कार्कीले बताए ।
‘जिल्लाभरबाट ४० बस र निजी साधनमा दुई हजार बढी कार्यकर्ता आएका छौं,’ ¥यालीमा सहभागी उनले टेलिफोनमा भने,‘उत्साहजनक उपस्थिती छ ।’
तर नेकपा गण्डकी प्रदेश सदस्य एवं खेमाका नेता शंकरनारायण श्रेष्ठले भने ५४ वटा बस तनहुँबाट गएको र गण्डकी प्रदेशबाट जाने कार्यकर्ता नै ओली समूहको कार्यक्रमका कुल कार्यकर्ताभन्दा बढी रहेको दाबी गरे । ‘तनहुँ, लमजुङ र गोरखाबाट गएका नेता कार्यकर्ताको संख्या नै अस्ति ( ओली समूहको)को कार्यक्रमभन्दा बढी छ,’ उनले भने ।
यस अघि ओली खेमाले आयोजना गरेको सभामा पनि ठूलो संख्यामा कार्यकर्ता गएको दाबी खेमाले गरेको थियो ।
त्यसकारण पनि धेरै कार्यकर्ता प्रदर्शनको दबाबमा रहेको प्रचण्ड–नेपाल समूहले धेरै कार्यकर्ता उतारेको आंकलन गरिएको छ । ¥यालीमा सहभागी नेकपा व्यास १ का नेता बादल आलेले आफूहरुको उपस्थिती सोचेभन्दा बढी भएको बताए ।