नेतृत्व लिनका लागि अग्रसर हुन युवालाई अभियन्ताको सुझाव

  • ख-
  • ख+

दमौलीः युवाले नेतृत्व लिनका लागि दबाब दिनुपर्नेमा दमौलीमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । जेसिआई व्यासनगरले दमौलीमा गरेको नेतृत्व तथा संगठन विकास प्रशिक्षणमा युवा अभियन्ताहरुले युवाले अवसर कुरेर बस्न नहुनेमा जोड दिए ।


कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नेतृत्व हस्तान्तरण नहुँदा युवामा निराशा जाग्ने गरेको बताए । उनले जेसिजमा हरेक वर्ष नेतृत्व हस्तान्तरण हुने भए पनि राजनीतिक दल र सार्वजनिक पदमा नहुँदा युुवा निराश हुने गरेको बताए । ‘तर युवामाझ अवसर र चुनौती दुवै छ,’ उनले भने ।


कार्यक्रममा बोल्दै युवा अभियन्ता अपार पौडेलले राजनीति र समाजमा पनि युवाका लागि प्रशस्त अवसर रहेको बताए । ‘युवाले समाज र राजनैतिक अवस्थाबारे समेत जानकारी राख्नुपर्छ,’ उनले भने,‘नेतृत्व लिन अग्रसर हुनुपर्छ ।’


युथ कंग्रेसका अध्यक्ष एवं प्रशिक्षक सचिन तिमिल्सनाले युवाले विदेश जाने नभै आफ्नै ठाउँमा अवसर लिनुपर्ने भन्दै त्यसका लागि अरुले भन्दा फरक काममा निरन्तर खट्नुपर्ने सुझाव दिए । ‘हामीमध्ये डिभी परेमा नजाने कति छौं ?’ सहभागीलाई प्रश्न गर्दै उनले भने,‘हामीले विदेश जाने होइन यहीं अवसर श्रृजना गर्ने हो ।’


संस्थाका अध्यक्ष लक्ष्मीभक्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले जेसिज युवा सीप विकासमा उदाहरणीय भएको बताए । प्रशिक्षणमा क्लबका सदस्य तथा अन्य युवा गरी झण्डै ६० को सहभागीता रहेको महासचिव अजर नागिलाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्