दमौली : अविरल वर्षाका कारण तनहुँको म्याग्दे गाउँपालिका–२, जामुनेमा दुईतले कच्ची घरको गारो भत्किँदा एक युवक घाइते भएका छन्। शनिबार दिउँसो करिब ३ः४० बजे म्याग्दे गाउँपालिका–१, गुणादी निवासी सोमबहादुर थापाको ढुङ्गा र माटोले बनेको दुईतले घरको पूर्व र उत्तरतर्फको गारो भत्किएको हो।
उक्त घरमा सञ्चालित जामुने मोटरसाइकल हेल्थपोष्ट एण्ड रिकन्डिसनमा आएका म्याग्दे–२ निवासी १९ वर्षीय जोसन श्रेष्ठ घाइते भएका छन्। उनको नाक, निधार, ढाड र हातमा चोट लागेको छ। घाइते श्रेष्ठलाई उपचारका लागि दमौलीस्थित रत्नहरि अस्पताल पठाइएको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ। अविरल वर्षाका कारण घरको गारो भत्किएपछि उक्त घर बसोबास गर्न नमिल्ने अवस्थामा पुगेको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थर्पुबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घरभित्र रहेका सरसामान सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।





