
दमौलीः बन्दीपुर कब्जाका लागि कांग्रेसले गरेको आन्दोलनका क्रममा सहादत पाएका तनहुँसुरका उत्तरकुमार श्रेष्ठका पुत्र हरिप्रसादको सोमबार निधन भयो । एक महिनायता क्यान्सरले थलिएका उनी यस अघि नेकपाका संगठित सदस्य थिए ।
तत्कालीन एमाले हुँदै संगठित सदस्य भएका हरिप्रसाद त्यसपछिको विभाजनमा कुनै पनि खेमामा संलग्न थिएनन् । तर सोमबार अकस्मात निधन भए पछि कसले अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने भन्ने अन्यौल भयो ।
तर विभाजनयता मञ्च शेयर नगरेका नेकपाका दुई परस्पर विरोधी खेमाका नेतालाई एउटै मञ्चमा जुराउने काम भने यही घटनाले गरायो ।
केपी ओली खेमाका नेता एवं नेकपाका जिल्ला अध्यक्ष केदार सिग्देल तथा प्रचण्ड–नेपाल खेमाका नेता एवं गण्डकी प्रदेश कमिटी सदस्य शंकरनारायण श्रेष्ठ दुवैले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर हरिप्रसादप्रति श्रद्धासुमन प्रकट गरे ।