
प्रकृति खनाल न्यौपाने
दमौलीः व्यास नगरपालिकाले महिलाहरूको पाठेघरको क्यान्सर न्युनीकरणका लागि तीन चरणको शिविर सम्पन्न गरेको छ । जानकारीको अभावका कारण पाठेघरको समस्याका कारण क्यान्सर समेतको समस्या भोगेका महिलाले घरमै आएर सञ्चालन गरिएको शिविरलाई वरदान भनेका छन् ।
महिलाको पाठेघरको क्यान्सर न्युनीकरणका लागि हरेक साताको फरकमा शनिबार पारेर बिदाको सदुपयोग हुने गरी नगरपालिकाले तेस्रो चरणको स्वास्थ्य शिविर समेत शनिबार सम्पन्न गरेको हो । तेस्रो चरणको शिविर व्यास २ बालमन्दिर माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रसुति रोग विशेषज्ञ डा. सिर्जना शर्मा र दमौली अस्पतालकी डाक्टर शान्ति पोख्रेलको नेतृत्वको टोली परीक्षणमा खटेको थियो । टिममा नर्सिङ अधिकृत राधिका रेग्मी, अस्पताल नर्सिङ निरिक्षक पुष्पा महर्जन, नर्स सुजता रिजाल, हेल्थ कर्मचारी सम्झना अधिकारी लगायत पाँच जनाको टिम र व्यास नगरपालिकाका स्वास्थ्य कर्मचारीहरूको सहभागीता रहेको थियो ।
शिविरमा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर न्युनीकरणका लागि निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको हो। नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राही मध्ये सबैभन्दा वृद्ध महिलालाई पूर्जी दिएर शिविरको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले पाठेघरको मुखको क्यान्सरबारे सचेत हुँदै बेलैमा उपचार गराउन यस्ता शिविरहरूले प्रभावकारी हुने तथा नगरपालिकाले विगतका वर्षहरू देखि नै पाठेघर को मुखको क्यान्सर सम्बन्धी निःशुल्क शिविरहरू गर्दै आएको र अति संवेदनशील अवस्थामा रहेका महिलाहरूको थप उपचार महिला विशेषज्ञले नै गरेकाले महिलाहरूलाई आफ्ना समस्या खुलेर उपचार गर्न सुझाव दिएका थिए ।
शिविरमा नगरपालिकाकी उपप्रमुख मिरा जोशीले महिलाहरू उपचार गर्न समेत लजाउने,आफ्नो समस्या भन्न पुरूष चिकित्सकसँग डराउने भएकाले महिला प्रसुति रोग विशेषज्ञको नै व्यवस्था गरिएको जानकारी दिइन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले विकास भनेको शिक्षा र स्वास्थ्यको सूचक सहित यिनीहरूलाई प्रभावकारी कार्यन्वयन गर्नु भएकाले स्वास्थ्य त्यसमा पनि चुनौतिपूर्ण अवस्थामा रहेको महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरका बारेमा शिविर सञ्चालन गर्न व्यास नगरपालिका सफल भएको धारणा राखे ।
अधिकृत सिग्देलले व्यास क्षेत्रलाई पर्यटन विकाससँग जोड्न भर्खरै मानुङकोटदेखि पुलिमर्याङसम्मको म्याराथन दौड प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिंदै यस्ता कार्यक्रममार्फत स्रोत र साधनको खोजी गर्दै व्यास क्षेत्रमा आर्थिक समृद्धिका लागि हर सम्भावनाका कामहरू गर्न प्राथमिकताका आधारमा योजना छनोट गर्दै काम गरिने धारणा राखे ।
शिविर उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै व्यास नगरपालिकाका वडा नम्बर २ का वडाअध्यक्ष काशीराम श्रेष्ठले यस्ता शिविरहरूले महिलाहरूको समस्या समेत सम्बोधन गर्दै लुकेका समस्याको निदान हुने धारणा राखे ।
शिविरमा उपस्थित भएका स्वास्थ्यकर्मीलाई सम्मानपत्र दिंदै यस वर्षको यस प्रकृतिको शिविर सकिएको र आगामी दिनमा झनै प्रभावकारी ढङ्गबाट यस्ता गम्भीर प्रकृतिका समस्याहरूलाई चिर्ने खालका स्वास्थ्य शिविर समुदाय समुदायमा सञ्चालन गरिने नगरपालिकाले जानकारी दिएको छ ।
शिविरमा एक सय ३५ जना जनाको सहभागीता रहेको जनस्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी दिए ।