
दमौलीः राणा शासनविरुद्धको क्रान्तिका क्रममा बन्दीपुर सदरमुकाम कब्जा गर्ने क्रममा ज्यान गुमाएका छ सहिदको स्मृतिमा तनहुँको तनहुँसुरमा पार्क स्थापना गरिएको छ । सहिद धर्मोत्तर सन्तधर्म चन्द्रखड्ग प्रतिष्ठानले निर्माण गरेको पार्कको संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले उद्घाटन गरे ।
तनहुँसुरमा आयोजित कार्यक्रममा बोल्दै उनले राणाशासनविरुद्धको प्रजातान्त्रिक क्रान्तिका अलावा हरेक प्रजातान्त्रिक आन्दोलनमा तनहुँसुरको महत्वपूर्ण भूमिका रहेको बताए । उनले तनहुँसुरको पर्यटकीय विकासबाट मात्र त्यस क्षेत्रले लाभ लिन सक्ने भन्दै यसका लागि आफूले विशेष जोड दिएको बताए ।

गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले तनहुँसुर ऐतिहासिक र पर्यटकीय क्षेत्रका अलावा राजनैतिक हिसाबले समेत महत्वपूर्ण रहेको बताए ।
व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँसुरको विकासका लागि नगरपालिकाले बाटोका लागि सबैभन्दा ठूलो परियोजनाका रुपमा आठ करोडमा कालोपत्रेको काम भैरहेको जानकारी दिए । उनले अझै अरु योजना पनि निरन्तर चलिरहेको बताए ।

व्यास नगरपालिकाका प्रथम प्रमुख ताराप्रसाद श्रेष्ठले स्थानीयको पहलका कारण बन्दीपुरले विकासमा अग्रता लिएको भन्दै यस ठाउँको विकासमा स्थानीयले पनि थप योगदान दिनुपर्नेमा जोड दिए ।

सहिद धर्मोत्तर सन्तधर्म चन्द्रखड्ग प्रतिष्ठानका अध्यक्ष हरिराज पण्डितले तनहुँसुरका सहिदहरुको देशमा प्रजातन्त्र ल्याउन योगदान रहेको भन्दै त्यसलाई स्मरण गराउन पार्क स्थापना गरिएको जानकारी दिए । प्रतिष्ठानले पार्कसँगै अरु विकासका योजनालाई पनि साथ दिने उनले बताए ।
तनहुँसुर पर्यटन विकास समितिका अध्यक्ष ध्रुवराज पण्डितले तनहुँसुरको पर्यटकीय विकाससँगै सहिदहरुको भूमिको रुपमा समेत चिनाउनका लागि गरिएको प्रयासले सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे ।

पार्कमा बन्दीपुर अड्डा कब्जा गर्न गएका सहिदहरु सन्तबहादुर राना, धर्मराज बतास, उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, धर्मध्वज गुरुङ र खड्गबहादुर गोदारको प्रतिमा स्थापना गरिएको छ । पार्कसँगै संग्रहालय, शौचालय, टिकट घर सहितका संरचना विकास गर्ने लक्ष्य राखिएको अध्यक्ष हरिराज पण्डितले जानकारी दिए ।

प्रतिष्ठानले पार्कको विकासका लागि झण्डै दुई करोडको गुरुयोजना बनाएको छ । त्यसमा करिब ६० लाख रुपैयाँ हालसम्म खर्च भैसकेको जानकारी प्रतिष्ठानले दिएको छ ।