दमौली: अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुलमाथिबाट लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आइतबार बिहान ७ः५५ बजेसम्मको अद्यावधिक जानकारीअनुसार पहिरोका कारण सडकमा सवारीसाधन आवतजावत ठप्प भएको हो।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाउन घटनास्थलमा मेसिन तथा उपकरण परिचालन गरिसकिएको छ। सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ।
अविरल वर्षाका कारण पहिरो खस्ने जोखिम रहेकाले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।





